काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदीमा भारतीय एसएसबीले तुइन काटेपछि भएको घटनाबारे छानविन समितिको प्रतिवेदन आएपछि सरकारले थप कदम चाल्ने स्पष्ट पारेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खाँणले यस्तो बताएका हुन् । ‘म माननीयज्यूहरूको संवेदनशीलताको सम्मान गर्छु । यसमा सरकारले छानविन समिति बनाएको छ । समितिले घटनास्थलमै पुगेरै छानविन गर्नेछ । तुइन तर्न सफल भएका चारजनासँग पनि समितिले सोधपुछ गरेको छ,’ गृहमन्त्री खाँणले भने, ‘उहाँहरूको जानकारीलाई पनि छानविन समितिले मूल आधार बनाउने हो ।’
उनले छानविन समितिको निष्कर्षलाई दृढताका साथ अघि बढाउने भन्दै नागरिकको जीवन रक्षा गर्नु सरकारको मूल कर्तव्य भएको बताए ।
‘प्रतिवेदन आएपछि यो घटनामा सरकारले थप कदम चालेर अन्तिम निष्कर्षमा पुग्न सकिन्छ । प्रतिवेदन नआउँदासम्म मृतक पनि भन्न मिल्दैन । सत्य र तथ्यको आधारसीलामा नै प्रतिवेदन आउने हो । यसमा सरकारले पूर्णरूपमा अडान लिने छ र जुनसुकै कदम चाल्न सरकार तयार छ,’ उनले भने ।
संसद बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री खाणले बेपत्ता भएका जयसिंह धामीको नेपाली र भारतीय सुरक्षा निकायले खोजी गरिरहेको बताएका थिए ।
घटनाको सत्य तथ्य लुकाएको भन्दै सत्तारुढ नेपाली कांग्रेससहित प्रमुख प्रतिपक्षी एमाले सांसदहरूले विरोध जनाएका थिए । संसद बैठकमा सांसदहरुको प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खाणले घटनामा भारतीय एसएसबी कतै उल्लेख गरेनन् ।