KhabarUjyalo

कञ्चनपुरको ‘भाइल रोड’ आन्तरिक पर्यटकको रोजाइमा

१९ श्रावण २०७८, मंगलवार
कञ्चनपुरको ‘भाइल रोड’ आन्तरिक पर्यटकको रोजाइमा

कञ्चनपुर,१८ साउन । महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको पहुँच मार्ग यतिबेला फोटो सुटको हटस्पट बनेको छ । भीमदत्त नगरपालिका–११ भुजेला र १२ ऐरी क्षेत्रमा पक्की सडक बनेसँगै छेउमै बगिरहेको महाकाली र पुल आन्तरिक पर्यटकको रोजाइ बनेको छ।

युवापुस्ता दिनभरजसो उक्त सडकमा आउने र फोटो कैद गर्नुका साथै भिडियो र टिकटक बनाउनेको भीडभाड रहने गरेको स्थानीय रामबहादुर देउवाले बताए। “शनिबार त यहाँ सडकमा घुइँचो नै लागेको हुन्छ”, देउवाले भने, “चिल्लो सडक, छेउमा बग्ने महाकाली र बनिरहेको पुलले सबैलाई आकर्षित गरेको छ।”

यहाँ फोटो सेसनका लागि दैनिक २०० देखि एक हजार जनासम्म पुग्ने गरेको उनको भनाइ छ। सडक बनेको विभिन्न ठाउँमा युवायुवती समूहमा आएर टिकटक बनाउन निकै व्यस्त देखिन्छन्। पछिल्लो केही समययता सडकमा भीडभाड बढेपछि यहाँ आइसक्रिम, चटपटेलगायत किराना ससाना पसल सञ्चालनमा आएका छन्।

भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर देउपाले बाटो निर्माण पूरा हुन नपाउँदै युवाहरुको भीडभाड सो क्षेत्रमा बढेको बताए। “बिदाको दिन त यहाँ भीडभाडको सीमा नै रहँदैन”, उनले भने, “सडकमा जथाभावी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने र सामाजिक विकृति फैलिने खालका गतिविधिमाथि स्थानीय प्रशासनलाई निगरानी बढाउन अनुरोध गरिएको छ।”

उनले पुलसँगै निर्माण हुने चार वटा ठूलो पोखरीसमेत बने सो क्षेत्र पर्यटकीय गन्तव्य हुनेमा विश्वस्त रहेको बताए। “भीडभाड धेरै हुन थालेपछि अब दुई÷तीन दिनमा वडामा प्रहरी प्रशासनसित संयुक्त बैठक डाकेर छलफल गर्ने योजना छ”, उनल भने, “अनाश्वयक भीडभाडले दुर्घटनाको जोखिमसमेत बढेको छ।”

पुलसँगै वारितर्फ गड्डाचौकी र पारि दोधारा–चाँदनीमा डेढ किलोमिटर छ लेनको सडक निमार्णाधीन अवस्थामा रहेको छ। पुल निर्माण कम्पनीका इञ्जिनीयर किशोरराज पाण्डेयले सडकमा बढिरहेको भीडभाडले दुर्घटनाको जोखिम बढेको बताए। रासस

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo