धनगढी : कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
लम्कीचुहा घर भई जानकी गाउँपालिका–स्थित अमरावतीमा रहेको ससुराली घरमा बस्दै आएका दीपक सुनारको हत्या आरोपमा उनकी श्रीमती एमुना सुनारसहित पाँच जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा एमुनाका प्रेमी लम्कीका दुर्योधन सुवर्णकार, टीकापुर–३ का रामराजेश महतो, बेलौरी–८ का वीरेन्द्र राना र भीम राना रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार एमुना सुनार र दुर्योधन सुवर्णकारले दीपक सुनारको हत्या गर्न वीरेन्द्र राना र रामराजेश महतोलाई सुपारी दिएको खुलेको छ।
दीपक सुनारको शव भने हालसम्म फेला परेको छैन। पक्राउ परेकाहरूले प्रहरीसमक्ष दिएको बयानका आधारमा उनको शव कर्णाली नदीमा फालेको आशंका गरिएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

