२१ श्रावण २०७८, बिहीबार

आदिकवि भानुभक्तको २०८ औँ जन्मजयन्ती आज

२९ असार २०७८, मंगलवार
आदिकवि भानुभक्तको २०८ औँ जन्मजयन्ती आज

काठमाण्डाै । नेपाली साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका आदिकवि भानुक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज (मङ्गलबार) परेको छ । भानुभक्तको सम्झनामा नेपाल, भारतको दार्जिलिङ्ग लगायतका मुलुकसहित नेपालीको बसोबास रहेको विश्वका विभिन्न देशमा भानुजयन्ती मनाइन्छ । कवि मात्रै नभएर उनलाई नेपाली भाषाका ढुकढुकीका रूपमा चिन्ने गरिन्छ ।

उनका लय हरेक नेपाली जनजिब्रोमा अहिले पनि जीवितै छन् । भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिव्यक्त गर्न सफल भानुभक्तको जन्म विक्रम संवत १८७१ साल असार २९ गते अर्थात आजकै दिन तनँहु जिल्लाको चुँदीरम्घा गाउँमा भएको हो । हुनेखाने परिवारमा जन्मिएका उनले शिक्षादीक्षा र लालनपालन धार्मिक एवं सांस्कृति अनुशासनमा प्राप्त गरेका थिए । 

१५ औं शताब्दीमा खस राजाहरुको पराजयसँगै ओझेलमा परेको नेपाली भाषाका प्रथम कवि भनेर भानुभक्तलाई चिनिन्छ । त्यतिबेला संस्कृत भाषा बुझ्न र बुझाउन निक्कै मुस्किल थियो । साहित्य र कलात्मक अभिव्यक्ति बुझ्न सकिँदैन थियो । त्यो परिवेसमा भानुभक्तले उतिबेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपीबद्ध गरिदिएका हुन् । नेपालीमा अनुवाद गरिए पनि नेपाली संस्करणको रामायण अलौकीक रूपमै छन्द र भावको दोभान बन्न सफल भयो । 

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेख्नेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन्। 

भानुभक्तले अध्ययन र ज्ञानलाई भाषामार्फत सरलीकृत गरेर नेपालीको सरल पहुँचमा विस्तार गरेका हुन् । समाज र परिवेसबाटै सिकेका भानुभक्तको रचनालाई समाज र व्यवहारिकताको  सङ्गम मानिन्छ ।घाँस काटेर प्राप्त भएको पैसाले कुवा खन्न लगाएका एक जना घाँसीबाट उनले जीवनमा सबैभन्दा ठूलो प्रेरणा प्राप्त गर्न सकेको बताइन्छ । त्यसपछि उनमा समाजका लागि केही गर्नुपर्छभन्ने भाव जागृत भयो । 

भानुभक्तका रामायणभित्र रहेका बालकाण्ड, अरन्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको छ। उनले रामायणका अतिरिक्त अन्य धेरै सिर्जना गरेका छन् । 

अरु धेरै साहित्यिक सिर्जना र कृति भए पनि भानुभक्तलाई रामायणले चिनाएको हो । आजको साहित्यिक सिर्जनादेखि दोहोरी र लोकगीतहरुको उद्गम विन्दु पनि नेपाली समाजका लागि भानुभक्तको सरल रामायण नै भएको बताइन्छ । नेपाली जनजिब्रोमा रहिरहने भानुभक्तको लय विल्कुलै भिन्दै थियो । अहिलेका धेरै कविहरुले आफ्ना सिर्जनालाई उनकै लय दिएर वाचन गर्ने गरेका छन् । 

अनुवाद गर्दै छन्द अनि भावलाई कायम गरेर बढोत्तरी गर्नसक्नु, शताब्दीसम्म जनमानसले प्रयोग गर्नसक्ने एवं यर्थाथपरक उखान, भनाइ र छन्दात्मक अभिव्यक्तिका साथ नेपाली भाषालाई संस्थागत गर्नसक्नु भानुभक्तको आदिकवि हुनको पूर्णव्याख्या र पहिचान हो । साहित्यलाई सामान्य ढङ्गले परिभाषीत गर्ने आजको समाजले भानुभक्तको गहनता र सरलताबाट धेरै सिक्न जरुरी रहेको साहित्यिक अगुवाको भनाइ छ । नेपाली साहित्यमा मोतीराम भट्ट र भानुभक्त जोडिएर आउने नामहरु हुन् । यूगकवि मोतीरामले भानुभक्तका धेरै अन्य कृति  प्रकाशमा ल्याएका हुन् । 

भारतमा अध्ययन गरेका मोतीरामको उर्दु, फारसी लगायतका भाषामा विशेष दखल हुँदाहुँदै पनि नेपाली भाषा र भानुभक्तका कृतिहरुप्रतिको समर्पणले नेपाली भाषाको फराकिलो दायरा र नेपालीपन उद्घोष गर्दछ । मोतीरामले लामोसमय भानुभक्तका बारेमा अन्वेषण र सोध गरेर विक्रम संवत १९४१ मा छपाएका जीवन चरित्रपछि भानुभक्तका बहुआयमीक रचनाहरु अझ जनमानसमा आइपुगेका हुन् । भारतीय इन्साइक्लोपेडियामा समेत भानुभक्तको खुलेर व्याख्या गरिएको छ ।

भानुभक्तबाट अहिलेका पुस्ताले भाषामोह सिक्न जरुरी रहेको भाषा विज्ञहरुको भनाइ छ । छरिएका भाषाहरुलाई एकसुत्रमा बाँध्ने महान व्यक्ति, नेपालीजनका आदिकविको सम्झनामा आज नेपालसहित विश्वभर भानुजयन्ती मनाउने गरिन्छ । नेपाली भाषाको अध्यन, अनुसन्धान अनि विकास नै भानुप्रतिको सच्चा श्रद्धासुमन हुने बताइन्छ । ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो। यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन्।  

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेको बताइन्छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ।

त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन्। यसवर्ष पनि गतवर्ष जस्तै कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले भौतिक दूरी आयोजना गरेर भानुजयन्तीको अवसरमा कार्यक्रम गरिने भएको छ । 

सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्नेले भने घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानुजयन्ती मनाउँछन्। यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले जुम विधिका माध्यमबाट पनि विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन्।

भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँछन्। उनका अनुसार रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगको निर्माण गरेको छ । भानुभक्तको निधन विसं १९२५ असोजमा भएको हो । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
0 Shares
Tweet
Share
Share
Pin