कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज पाँच वर्ष पूरा भएको छ । तर घटना रहस्यमै रहेको छ । निर्मला पन्त २०७५ साउन १० गते साथीको घरबाट वेपत्ता भइन्। भोलिपल्ट घरभन्दा एक किलोमिटर टाँढा उखुबारीमा उनको शव फेला परेको थियो ।
अहिलेसम्म प्रहरीले एक सयभन्दा धेरै व्यक्तिको डिएनए संकलन गरी प्रयोगशालामा जाँच गराइसकेको छ भने एक दर्जन व्यक्तिलाई हिरासतमा लिएर पनि अनुसन्धान गरिसकेको छ ।
निर्मलाको बलात्कारपछि हत्या भएको तीन सातापछि ४ भदौमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले भीमदत्त नगरपालिका–१९ का दिलिपसिंह विष्टलाई अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । विष्टलाई सार्वजनिक गरेलगत्तै महेन्द्रनगरमा व्यापक आन्दोलन सुरु भएको थियो । डिएनए नमिलेपछि उनलाई रिहा गरिएको थियो ।
अपराध अनुसन्धानमा गम्भीर लापरबाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कन्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्टसहितका प्रहरी बर्खास्त भए। विभागीय कारबाहीमार्फत बर्खास्त भएका एसपी विष्टसहितका प्रहरीले अदालतबाट सफाई पाए।
निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर थप एक युवकको समेत मृत्यु भएको थियो।
प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । केन्द्रीय जाँच व्यूरो (सिआईबी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आ–आफ्नै तरिकाले अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।