दार्चुला, ९ साउन । दार्चुलाको मार्मा गाउँपालिकामा निर्माण गरिएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको विधिवत् रूपमा उद्घाटन गरिएको छ।
निजी क्षेत्रको लगानीमा निर्माण सम्पन्न भएको अपर चमेलिया जलविद्युत् आयोजनाको सफल परीक्षण भएपछि सोमबार उद्घाटन गरिएको हो। गत शुक्रबारबाट परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
मार्मा गाउँपालिका– १ किमगडामा रहेको बाँधबाट ६ किलोमिटर तल वडा नम्बर–२ को घट्टेगाडमा रहेको पावरहाउसमा पानी खसालेर परीक्षण सुरु गरिएको थियो। उत्पादित विद्युतलाई शैल्यशिखर नगरपालिका– १ वलाँचस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। ३० महिनामा निर्माण सम्पन्न भएको उक्त योजनाको कुल लागत ८ अर्ब ५० करोड रहेको छ।