२४ श्रावण २०७९, मंगलवार

जन्मिएकाे ५ मिनेटमै गुमाइन् आमा, भावुक बन्याे पास्‍नी !

१८ असार २०७९, शनिबार
[Sassy_Social_Share]
जन्मिएकाे ५ मिनेटमै गुमाइन् आमा, भावुक बन्याे पास्‍नी !

भक्तपुर । अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा धेरै पहिलेदेखि चल्दै आएको छ । यद्यपि कतिपय संस्कारहरूलाई अहिले आएर आधुनिकतामा ढालिएको छ र कतै–कतै यसलाई ‘कमर्सियल’ बनाउने पनि गरिएको पाइन्छ ।

तर आज भक्तपुरको चाँगुनारायणमा गरिएको एउटा अन्नप्राशन भने निकै भावनात्मक र नौलो प्रकारको थियो । चाँगुनारायण–४ मा अवस्थित तुलसालय आश्रममा छ महिनाकी स्तुतिको पास्नीमा उपस्थित सबै अतिथिहरूले उनको अवस्थाका बारेमा बताइरहँदा निकै भावुक भएका थिए । स्तुति उनकी आमाकी सातौँ छोरी हुन्, तर गत पुसमा उनलाई जन्म दिएको पाँच मिनेटमा नै आमा गौरा छत्यालको निधन भएको थियो ।

बुवा असक्त, आमाको निधन । स्तुतिका दिदीहरु सबै १३ वर्ष मुनिका । यसरी असहाय बनेकी २० दिनकी स्तुतिलाई तुलसालय हरिहर फाउण्डेशनले उद्धार गरी लालनपालन गरी आएको छ । आज तिनै स्तुतिको शुभ अन्नप्राशन नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुुशीला कार्कीको हातबाट भयो ।

स्तुतिलाई सगुन खुवाएपछि पूर्वप्रधानन्यायाधीश कार्की निकै भावुक भए । उनले भने, “मेरो सामाजिक जीवनमा म धेरै कार्यक्रममा सहभागी भएँ हुँला तर यस्तो कार्यक्रममा कहिल्यै गएको थिइनँ, यसरी अनाथ आश्रममा रहेकी एक छोरीको अन्नप्राशनजस्तो शुभकार्यमा मलाई सहभागी गराउने आश्रमका सञ्चालक महान् छन् ।”

पूर्वप्रधानन्यायाधीश कार्कीले भने, “जसका आमाबुवा छैनन्, जो परिवारको हैसियतमा छैनन्, टुहुरा छन् र समाजका बेसहारा नागरिक छन् उनीहरुको अभिभावकत्व ग्रहण गर्दै बच्चालाई बढाइ, पढाइ उनीहरुको भविष्य बनाउने महान् कार्यलाई कसैले बिर्सनु हुँदैन । त्यस्तै समाजमा जो बेसहारा छन् तिनको सहारा सरकार हो भन्ने दायित्व सरकारले बुझ्नुपर्छ । अनाथ आश्रमबाट धेरै बच्चाहरूले सहारा पाएकाले यस्ता आश्रमलाई राज्यले सहयोग गर्नुपर्छ ।” कार्कीले तुलसालय आश्रमले प्रदर्शन गरेको मानवीय सेवाभावको प्रशंसा गरे ।

स्तुतिलाई सगुन खुवाउन पुग्नुभएकी पूर्वप्रदेश प्रमुख एवं माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले बेसहारा बालबालिका र आम नागरिकलाई सहयोग पु¥याउनु नागरिकको कर्तव्य हो भन्दै समाजमा सकारात्मक सन्देश दिन र मानवीय सेवाको भावना जागृत गराउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण रहने बताए ।

नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले बच्चा ल्याएर पढाएर, बढाएर पछि देशका लागि लायक नागरिक बनाउनु ठूलो परोपकारी कार्य हो भन्दै यसलाई निरन्तरता दिन समाज र राज्यको उपस्थिति आवश्यक रहने बताए । समाजसेवाको कुनै दायरा हुँदैन भन्दै उनले सकेको आफूले पनि केही गर्नुपर्छ र म गर्छु भन्ने भावना जगाउन यस्ता संस्थाले प्रेरणा दिने बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo