२१ श्रावण २०७८, बिहीबार

आमाको नौगेडी (कथा)

५ असार २०७८, शनिबार
आमाको नौगेडी (कथा)

धेरै वर्ष विदेशमा दु:ख गरेपछि आफ्ना जहान बजारको डेराबाट आफ्नै घरमा सरिसकेका थिए। घर ठडिएर रङ्गरोगन भैसकेपछि पनि म निरन्तर विदेशमै श्रमरत थिएँ। पहिलाको जस्तो के खाउँला, कहाँ जाउँला भन्ने स्थिति नरहेपनि म अझै थप प्रगति गर्न चाहन्थे र घर बनिसक्ता पनि अझै दुई तीन वर्ष उतै अलमलिन चाहन्थे। कम्तीमा पनि १५-२० लाख बैंक ब्यालेन्स, एउटा मोटरसाइकल, बुढीको लागि ५-७ तोला सुन, छोरीको लागि महंगो क्यामेरा, ल्यापटप, बहिनीहरूका लागि केही उपहार आदि अझै पुर् याउन बाँकी नै थियो। जेहोस् म अझै विदेशबाट फर्किन नसक्नाका कारण यस्तै यस्तै थिए। म घरबाट लामो समय टाढा रहेपनि खुशी नै थिएँ , किनकि घरमा रहेकी बुढी आमा, जीवन संगिनी, छोरी लगायत अरु सदस्यहरूले एक छाक मीठो मसिनो खान र एकसरो लुगा लगाउन पाएका थिए।


घरमा वाइफाइ पनि जोडिएको थियो। म काम गर्ने बेलाको कफी टाइममा समेत घरमा भिडियो कल गर्थे र गफिन्थे। ड्युटी अफ भएपछिको समयमा, विदाको दिन परिवारसंग भिडियो कलमा नगफिएको समय नै हुन्थेनँ। कम्पनीको कुरादेखि लिएर गाउँघरसम्म, खेतीपातीदेखि राजनीतिसम्म, विवाहदेखि अन्य दु:ख विराम सबै विषयमा गफ हुन्थ्यो। तैपनि कहिल्यै सकिन्थेनन्।
करीब ७० वर्षको हाराहारीको उमेर भएपनि रोग र शोकका कारण आमाको शारीरिक अवस्था कमजोर थियो। दाइको ३६ वर्षको उमेरमा दु:खद् दुर्घटनामा मृत्यु हुनु र म पछिका दुई भाइहरू बीसौँ वर्षदेखि भारतमा बेपत्ता रहनु उनका दु:खका कारण थिए। घरीघरी आमा तिनका बारेमा कुरा गर्दै भक्कानिनु हुन्थ्यो तैपनि म भिडियो कलमै भएपनि सम्झाई बुझाई गर्थे। बुढीले आमाको खुबै ख्याल राख्थी। सायद सासु बुहारी यस्तो मिलेको कमै मात्र होलान्।
एकपटक आमा कम्मरदेखि मुनिको भाग नचल्ने भएर नराम्रोसंग प्यारालाइसिस जस्तै विरामी पर्नु भएको थियो। बुढीले आफ्नो पूरा ज्यान उनको देखरेखमा समर्पण गरी। बुढीले एम्बुलेंस बुक गरेर नेपालकै राम्रो बाँसबारी न्यु अस्पतालमा विशेष उपचार गराएपछि करीब दुई महिनामा हिँडन सक्ने हुनु भएको थियो। उनी विरामी रहँदा बुढीले एक रात पनि अलि टाइम सुत्न पाइनन् तैपनि कत्ति पनि बिचलित भइनन्। मैलै गर्नुपर्ने छोराको कर्तव्य पनि उनैले पूरा गरिन् र उसको आमाको सेवामा खट्न सक्ने अथक क्षमता देखेर म पनि गर्ववोध गर्थे। अब त आमा स्वस्थ भएको दुई वर्ष भन्दा बढी भैसकेको थियो तैपनि बुढो शरीर बेलाबेलामा औषधीको सहारा भने चाहिने।


एक चोटी आमा करीब १५~ २० दिन भाइको घरमा बस्नुभयो। घरमा त हरेक दिन भिडियो संवाद भैरहने भएपनि भाइको घरमा वाइफाई नभएकाले वहाँलाई एक दुई चोटी मात्रै फोन गरियो होला।
वहाँ बाहिर जाँदा बुढीलाई पनि घरमा नियास्रो लाग्थ्यो। छिट्टै आउनु भए हुन्थ्यो भन्थी मसंग संवाद गर्दा। आमाको अनुपस्थिमा पनि उनलाई कसरी खुशी राख्ने भनेर सोचिरहन्थी र त्यही बीचमा एकदिन मसंग भनिन् कि ‘ म सासुआमाको लागि एक तोला सुनको नौगेडी’ बनाउँछु। मलाई पनि उसको प्रस्ताव राम्रो लाग्यो र हुन्छ भनेर स्वीकृति दिएँ। जहाँ इच्छा, त्यहाँ उपाय। एक दुई दिनमा नौगेडी बनेर आइहाल्यो घरमा। नौगेडीको खबरसंगै आमा पनि भाइको घरबाट फर्किनुभयो र जब साँझतिर म ड्युटीबाट रुममा फर्केर घरमा भिडियो कल गर्छु त आमाले हत्त न पत्त ‘ बुहारी! मेरो नौगेडी ले त! म लगाएर बाबुसंग कुरा गर्छु भनेको सुने र त्यतिबेलासम्म नौगेडी त लगाइसक्नु भएछ।


भिडियो कलिङमा आमालाई दर्शन गरेपछि ‘ नौगेडी अहिले नलगाए पनि हुन्छ आमा! भन्दा वहाँ फेरी भक्कानिनु भयो र भन्नुभयो- बाबु मेरो हृदय सधैं रोइरहेको हुन्छ। तैपनि असल बुहारीको मायाले म बाँचिरहेकी छु। एकछिन मैले सम्झाएपछि फेरी सम्हालिएर बोल्नुभयो ” छोरीको जात नै यस्तो हो राम्रो लुगा र गहना लगाउने।” लगत्तै वहाँले नौगेडी घाँटीबाट झिकी राख भनेर बुहारीलाई दिनुभयो ।

लाल साउँद हाल दक्षिण कोरिया

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
0 Shares
Tweet
Share
Share
Pin