KhabarUjyalo

धेरै समयपछि बैतडीको सतबाँझमा स्याउ फलेपछी स्थानीयहरु खुसी

१८ जेष्ठ २०८०, बिहीबार
धेरै समयपछि बैतडीको सतबाँझमा स्याउ फलेपछी स्थानीयहरु खुसी

धनगढी, १८ जेठ/स्याउ उत्पादनका लागि प्रसिद्ध रहेको बैतडीको सतबाँझमा फेरी स्याउ फल्न थालेको छ । लामो समयपछि सुख्खा फलफूल विकास केन्द्र सतबाँझको क्षेत्रभित्र स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्मरसिंह भाटले बताए ।

विगत दुई दशक यता पहिलो पटक सतबाँझमा स्याउ फल्न थालेको हो । सतबाँझमा कम हिउँ पर्न थालेपछि स्याउ उत्पादन हुन छोडेको थियो । पछिल्लो समयमा नयाँ जातका स्याउका बिरुवा रोपेपछि स्याउ फल्न थालेको भाटले बताए ।

समुद्री सतहदेखि १८ सयदेखि २३ सय मिटर सम्मको उचाइमा रहेको सतबाँझमा बोरिङ सिँचाइ प्रणालीको समेत व्यवस्था गरिएको छ । सिँचाइ सुविधाका कारणले पनि स्याउले फल दिन थालेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए ।

सुख्खा फलफूल विकास केन्द्रको क्षेत्रभित्र अहिले १ हजार ५ सयको हाराहारीमा स्याउका बिरुवा रहेका र ती मध्ये ४ सय जतिले फल दिन थालेको खड्काले बताए । सुख्खा फलफूल विकास केन्द्रले उच्च घनत्वको स्याउको जातहरु रोपेपछि स्याउले फल दिन थालेको हो । अहिले फुजी, गाला, रेडग्रामिस्टन लगायत लोचिङ जातका स्याउहरु बारीमा लगाइएका छन् ।

यस्तै गोल्डेन डेलिसियस, रेड डेलिसियस,रोयल डेलिसियस लगायतका हाइचिलिङ जातका स्याउहरु बारीमा रहेका कार्यालय प्रमुख भाटले बताए । स्याउका विरुवाहरुमा नियमित सिँचाइ र मलको व्यवस्थापन गरेपछि स्याउले फल दिन थालेको हो ।

सुख्खा फलफूल विकास केन्द्रको हाताभित्र रहेका स्याउ भदौ अन्तिमसातातिर पाक्ने बताइएको छ । लामो समयपछि सतबाँझमा स्याउ फल्न थालेपछि स्थानीयहरु समेत खुसी भएका छन् । सतबाँझको स्याउको स्वाद चाखेकाहरु धेरै समयपछि स्याउ फल्दा खुसी भएका हुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo