काठमाडौं: गृहमन्त्री बालकृष्ण खाणले निर्मला पन्त बलात्कार तथा हत्या काण्डको अनुसन्धानका क्रममा ६३१ जनामाथि सोधपुछ गरिएको जानकारी दिएका छन्। सदनमा सांसदहरुले निर्मला हत्याकाण्ड कहाँ पुग्यो भनेर सोधेको प्रश्नमा जवाफ दिँदै मन्त्री खाणले निर्मला बलात्कार तथा हत्या घटनामा अझै अनुसन्धान जारी रहेको बताए।
२०७५ साल भदौ १० गते कञ्चनपुरकी बालिका निर्मला पन्तको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा फेला परेको थियो। घटना भएको चार वर्ष पुग्न लाग्दा अझै दोषी पत्ता लाग्न सकेको छैन। ‘त्यो घटनामा अझै अनुसन्धान जारी छ। कुनै कुनै घटनामा लामो समय पछि पनि अपाराधिहरु पत्ता लाग्छ। त्यहाँ धेरै जनालाई अनुसन्धानको दायरामा राखिएको छ। धेरै पक्षहरुको डिटेल विश्लेषण भइरहेको छ। घटनाको यथार्थ बाहिर आओस्, दोषीलाई कारवाही होस् भन्ने पुरै जनताको चाहना छ। जनप्रतिनिधिले पनि बारम्बार भन्नुभएको छ। यसमा म धन्यवाद भन्न चाहन्छु,’ मन्त्री खाणले भने।
मन्त्री खाणले घटनाको अनुसन्धानका क्रममा ६३१ जनालाई सोधपुछ गरिसकिएको बताए। १०७ जनाको डीएनए परीक्षण गरिसकेको उनले जानकारी दिए। ‘डीएनएको स्याम्पल कुनैसँग म्याचिङ भएन,’ उनले भने, ‘घटनामा डीएनए परीक्षण अथेन्टिक भए पनि कसैसँग मिलेको छैन। ७ जनासँग नजिक देखिएको थियो। कतिपय घटनामा पछिसम्म पनि सफलता हात पर्ने नजिरलाई हेरेर निरन्तर अनुसन्धान जारी राखिएको छ।’