KhabarUjyalo

एक जना बालक पढाउन ४ जना शिक्षक, एक जना बालक पढ्ने एउटा सिङ्गो विद्यालय।

१ असार २०७९, बुधबार
एक जना बालक पढाउन ४ जना शिक्षक, एक जना बालक पढ्ने एउटा सिङ्गो विद्यालय।

अर्घाखाँची : सुन्दा आश्चर्य र अपत्यारिलो लाग्न सक्छ तर अर्घाखाँची जिल्लामा सञ्चालित एउटा प्राथमिक विद्यालयमा यो शैक्षिक सत्रमा यही भएको छ।

२०४५ सालमा स्थापना भएको दुर्गा आधारभूत विद्यालयमा यो वर्ष एक जना चार वर्षीय विद्यार्थीमात्रै पढ्नका लागि आउँछन्।

तर ती विद्यार्थीलाई पढाउनका लागि भने ४ जना शिक्षक छन्। विद्यालयमा एक जना कार्यालय सहयोगी पनि खटिएका छन्।

जिल्ला सदरमुकाम रहेको सन्धिखर्क नगरपालिका वडा नं ३ (साविक -२) मा २०४५ सालमा स्थापना भएको उक्त विद्यालयमा सुरुका वर्षहरूमा कक्षा चारसम्म पढाई हुने गरेको बताइन्छ।

त्यसपछि कक्षा तीनसम्म पढाइने सो विद्यालयमा गत वर्ष मात्रै २१ जना विद्यार्थीले कक्षा लिएको विद्यालयका प्रधानाध्यापक हरिबहादुर खड्का बताउँछन्।

“यो वर्ष यस्तो किन भयो मलाई थाहा छैन। तर यो विद्यालयमा अहिले एक जना मात्र बालक पढ्न आउने गरेको कुरा सत्य हो,”प्रधानाध्यापक खड्काले भने।

“गत वर्ष नगरपालिकाले यो विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने निर्णय गरेको भन्ने हल्ला आएको थियो त्यसैले विद्यार्थीहरूले विद्यालय छाडेको हुनुपर्छ।”

अहिले त्यहाँ कार्यरत शिक्षकहरूमध्ये तीनजना शिक्षक प्राथमिक विद्यालय तहका स्थायी शिक्षक हुन् भने एक जना अस्थायी शिक्षक हुन्।

अहिले ती सबै शिक्षकले सन्धिखर्क नगरपालिकाबाट तलब बुझ्दै आएका छन्।

सरकारले प्राथमिक विद्यालयका शिक्षकलाई २८ हजारदेखि ३० हजार रुपैयाँको हाराहारीमा तलब दिँदै आएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo