KhabarUjyalo

सासू-ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान

३१ जेष्ठ २०७९, मंगलवार
सासू-ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान

पाल्पा । सासू-ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका-४ मित्यालको आयोजनामा परिवारका ज्येष्ठ नागरिक तथा सासू-ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो ।

मित्यालका २७ बुहारीलाई लत्ताकपडा र सम्मानपत्रले सम्मान गरिएको छ । वडाले पहिलोपटक ल्याएको यस कार्यक्रम उदाहरणीय रहेको र सासू-ससुरालाई अपहेलना गर्ने बुहारीलाई थप जिम्मेवारी बन्न सिकाउने स्थानीयवासी धनबहादुर ठाडाले बताए ।

वडा कार्यसमिति र सरोकारवालाले टोल-टोलमा पुगेर सासू-ससुरालाई राम्रोसँग लालनपालन, माया-ममता, स्याहारसुसार गर्ने बुहारी छनोट गरी सम्मान गरिएको वडाध्यक्ष सन्तवीर सुनारीले जानकारी दिए ।

समाजमा हिजोआज छोराबुहारी विभिन्न पेशा, व्यवसायमा व्यस्त रहने हुँदा घरमा एक्लै बस्नुपर्ने बाध्यता छ । पेशा, व्यवसायको व्यस्तता कतिपयले बुढ्यौली टेकेका सासू-ससुरालाई राम्रो स्याहारसुसार गर्न भ्याउँदैनन् भने कतिपयले ज्येष्ठ नागरिक भनेपछि अपहेलना गर्ने प्रवृत्ति छ ।

धनमाया ठाडाले घरका सासू-ससुरालाई राम्रो स्याहारसुसार गरेको भन्दै आफूलाई असल बुहारीका रूपमा सम्मान गरेकामा खुसी लागेको बताए । उनले भने, ‘घरका सासू-ससुरा भनेको हाम्रो अभिभावक हो, जन्मदिने बुवाआमासरह नै हामीले मायाममता, स्याहार संरक्षण गर्नुपर्दछ, उहाँहरूलाई खुसी बनाउन सकियो भने परिवार खुसी हुन्छ, हामीलाई आत्मसन्तुष्ट मिल्नेछ ।’

कतिपय परिवारमा सासू-ससुरा उमेर ढल्कँदै गर्दा घरबाट निकाला गरिदिने, वृद्धाश्रममा लगेर राखिदिने पनि बुहारी हाम्रै समाजमा छन् । ज्येष्ठ नागरिक समाजको अभिभावक, मार्गदर्शक भएकाले उनीहरुको सदैव मायाममता, पालनपोषण गरियो भने परिवार, समाजमा खुसी मिल्नेछ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo