काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरिएको छ । भारतमा धार्मिक भ्रमणबाट आज (आइतबार) फर्कन लाग्नुभएका पूर्वराजा शाह विमानस्थलमा उत्रिँदा उहाँका समर्थकहरुले भव्य स्वागतको तयारी गरेका हुन् ।
वीर गोर्खाली नामक संस्थाले पूर्वराजा शाहको भव्य तयारी गरेको जनाइएको छ । ‘श्री ५ महाराजधिराज सरकारको फिर्ती सवारी भव्य रुपले सफल पारौँ’ भन्ने नाराका साथ सबैलाई मोटरसाइकल र्यालीमा सहभागी हुन भनिएको छ । आइतबार दिउँसो २ बजेपूर्वराजा शाह भारतबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।
यता, जनतान्त्रिक तराई मुक्तिमोर्चा, राष्ट्र बचाऊ अभियान र राष्ट्रिय नागरिक आन्दोलन–२०७७ ले पनि पूर्वराजाको भव्य स्वागत गर्ने भएको छ । पूर्वराजा शाहको फिर्तालाई भव्य रुपमा मनाउन भन्दै सर्वसाधारण तथा राजावादीहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।
भारतको हरिद्वाराको महाकुम्भ मेलामा सहभागी हुन पुग्नुभएका पूर्वराजा शाहलाई त्यहाँ भव्य रुपमा स्वागत गरिएको थियाे । उहाँलाई रथ यात्रा, हेलिकोप्टरबाट पुष्पवृष्टिसहित स्वागत गरिएको थियाे ।