बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन जना संक्रमितकाे मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ बजे मृत्यु भएको थियो । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भयाे ।
गत चैत ३१ गते कोरोना संक्रमण देखिएपछि वैशाख १ गते अस्पताल भर्ना गरी उपचारकै क्रममा गए राति ७:४० बजे उनको मृत्यु भएको हो । भेरी अस्पतालमै उपचाररत नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिलाको पनि गए राति नै निधन भएको छ ।
गत चैत ३० गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरी उपचार गराइरहेकोमा स्वास्थ्यमा सुधार नआएपछि उपचारकै क्रममा शनिबार राति ९:३० बजे उनको मृत्यु भएको कोरोना स्रोत व्यक्ति वलीले बताए ।
बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ९६ पुगेको छ भने बाँके जिल्ला निवासी ६० जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । रासस