डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. १, स्याउलेमा ‘एकिकृत पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थलहरुको विस्तृत तथ्यांकहरु राख्ने गरी प्रदेशकै पहिलो पर्यटन सूचना केन्द्र स्थापना हुन लागेको अमरगढी नगरपालिका प्रमूख विश्वेश्वर प्रसाद ओझाले जानकारी दिए ।
अमरगढी नगरपालिकाको अथक प्रयासमा सुदूरपश्चिमका पहाडी ७ जिल्लाको एउटा मात्रै प्रवेशद्वार समेत रहेको स्याउलेमा पर्यटन सूचना केन्द्र स्थापना गर्न लागिएको हो ।
पर्यटन सूचना केन्द्र निर्माण भएमा डडेल्धुरासँगै सुदूरपश्चिम प्रदेशको समग्र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अमरगढी नगरपालिका प्रमूख ओझाले विश्वास व्यक्त गरे ।
उक्त पर्यटन सूचना केन्द्र स्थापनाका लागि पर्यटन विभागको सहयोगमा मास्टर प्लान र डिपिआर निर्माणको काम घण्टेश्वर इन्जिनियरिङ सोलुशन, भक्तपुरले जिम्मेवारी लिएर काम गरिरहेको छ । मास्टर प्लान र डिपिआरको काम करिब अन्तिम चरणमा पुगेको घण्टेश्वर इन्जिनियरिङले जनाएको छ।
पर्यटन सूचना केन्द्र स्थापनाका लागि ११ करोड ९६ लाख २ सय २७ रुपैयाँको लागत अनुमान सहित स्टिमेट तयार पारिएको छ ।
अमरगढी नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि उच्च प्राथमिकता दिएर विभिन्न ११ वटा स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागेको पनि नगरपालिका जनाााएको छ ।