KhabarUjyalo

गृह मन्त्री र आईजीपीको कुरो नमिल्दा : प्रहरीमा सईको बढुवा ठप्प

२ बैशाख २०७८, बिहीबार
गृह मन्त्री र आईजीपीको कुरो नमिल्दा  :  प्रहरीमा सईको बढुवा ठप्प

काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायब निरीक्षक (सई) को बढुवा निकाल्न सकेको छैन । इन्स्पेक्टरमा खुला प्रतिस्पर्धा र आन्तरिकरुपमा सईबाट बढुवा गरी पदपूर्ति गर्ने व्यवस्था छ । सईहरुको बढुवा प्रक्रिया लामो समयदेखि अवरुद्ध छ । श्रोतका अनुसार, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आईजीपी शैलेश थापा क्षेत्रीको कुरा नमिल्दा बढुवा प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

आईजीपी थापाले इन्स्पेक्टरमा विभागीय बढुवाबाट ६० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ४० प्रतिशत पदपूर्ति हुनुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पेश गरेका छन् । अहिले नेपाल प्रहरीमा ६० प्रतिशत खुल्ला र ४० प्रतिशत विभागीय बढुवाबाट इन्स्पेक्टर पदपूर्ति हुने व्यवस्था छ । यसले संगठनमा काम गर्नेहरुमाथि अन्याय हुने भएकाले ६० प्रतिशत विभागीय बढुवाबाट पदपूर्ति हुनुपर्ने उनको प्रस्ताव रहेको छ ।


  राजेन्द्र सिंह भण्डारी प्रशासन विभाग प्रमुख हु“दा प्रहरीमा कायम रहेको ६० प्रतिशत विभागीय बढुवाको प्रावधान संशोधन गरी ४० प्रतिशतमा झारेका थिए । जुन निर्णयप्रति प्रहरीभित्र ठूलो असन्तुष्टि रहेको थियो । आईजीपी थापाले त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै ६० प्रतिशत नै विभागीय बढुवा हुनुपर्ने प्रस्ताव गृहमा पेश गरेका छन् । तर गृहले त्यसलाई अस्वीकार गर्दै आएको छ । ६० नभएपनि ५० प्रतिशत भनेपनि विभागीय बढुवा हुनुपर्ने पक्षमा आईजीपी छन् । ५० प्रतिशतमा पनि गृह सकारात्मक नभएकाले सई बढुवा अन्योलमा परेको छ । 


आईजीपी शैलेश थापा क्षेत्री एआईजी हुँदा बढुवा समितिले शक्तिशाली मन्त्री र उच्चप्रशासकहरुका पीएसओलाई इन्स्पेक्टर बढुवा गर्दा विरोध गरेका थिए । उनी बढुवा समितिमा भएका बेला कनिष्ठ र कारबाहीमा परेकालाई बढुवा गरिएको भन्दै उनले विरोध गरेका थिए ।

त्यतिबेला २०६१ का सईलाई बढुवा नगरी २०६२ का सईहरुलाई शक्तिशालीहरुको पीएसओ भएकै आधारमा गरिएकाले उनले विरोध गरेका थिए । तर आफैं आईजीपी हुँदा उनले सईको बढुवा निकाल्न सकेका छैनन् ।

विगतमा कारबाहीमा परेका र शक्तिशालीहरुलाई बढुवा गर्नुहुँदैन भन्दै आईजीपी थापाले अहिले आफ्नो कार्यकालमा वरिष्ठका नाममा त्यस्तै विवादित र कारबाहीमा परेकाहरुलाई बढुवा गर्न खोजेका छन् । यसै विषयमा गृहमन्त्री थापा र उनको कुरा नमिल्दा सई बढुवा प्रक्रिया लामो समयदेखि हुनसकेको छैन । 


यसैबीच, १ नम्बर प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका बारेमा धेरै गुनासो आएपछि गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले उनलाई तानेर अर्कैलाई सरुवा गर्न निर्देशन दिएपनि आईजीपी थापाले त्यसलाई बेवास्ता गर्दै आएका छन् । १ नम्बर प्रदेशका डीआईजी कार्की, आईजीपी थापाले कोरोनाको समयमा अनलाइन (जुम) मिटिङ गर्दा कहिल्यै पनि कार्यालयमा नबसि बाहिरै रहने गरेको भएपनि उनलाई थापाले अझै सरुवा गरेका छैनन् ।

१ नम्बर प्रदेश अन्तर्गतका जिल्लाहरुबाट घुमुवा राखी तस्कर र कारोबारीसँग रकम उठाउने गरेको गुनासो पनि गृह मन्त्रालयमा पुगेको छ । तरपनि आईजीपी थापाले उनलाई प्रदेशबाट तानेका छैनन् । त्यसैगरी, लुम्बिनी प्रदेशका डीआईजी रविन्द्रबहादुर धानुकलाई पनि गृह मन्त्रालयले सरुवा गर्न निर्देशन दिएको लामो समय भइसकेको छ । जसलाई आईजीपी थापाले आलटाल गर्दै आएका छन् । 


यसैगरी, महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरि पालले कार्यक्षमतामा अति कमजोर देखिएका प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी दीपक खड्कालाई २ पटक स्पष्टीकरण सोधिसकेका छन् । सामाखुसीदेखि पकनाजोल, ठमेलमा चोरी डकैति र अपराधिक घटना वृद्धि भएका धेरै गुनासा आएपछि एआईजी पालले उनीसँग स्पष्टीकरण सोधेका हुन् ।

सोह्रखुट्टे वृत्त अन्तर्गतको ठमेलमा कोरोना संक्रमणको जोखिमलाई हेरेर नाइट क्लबहरु सञ्चालनमा कडाई गर्न पर्नेमा खुल्ला छाडेर डीएसपी खड्काले लाभ लिने गरेको आरोप छ । डीएसपी खड्काले ठमेलका एलओडीलगायतका क्लबहरुसँग मासिक दररेट तोकेर घुस लिँदै रातभर सञ्चालन गर्न दिने गरेका छन् । साँघु बाट

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo