Khabar Ujyalo

नेपालका अतिक्रमित भूमि नक्सामा समेटिनु २०७७ को उपलब्धिः राष्ट्रपति

१ बैशाख २०७८, बुधबार
नेपालका अतिक्रमित भूमि नक्सामा समेटिनु २०७७ को उपलब्धिः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छन् ।

नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूबीचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको उल्लेख गरिन।

उनले संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरिनु, विश्व खुशी प्रतिवेदन–२०२१ मा नेपाललाई दक्षिण एशियाको सबैभन्दा खुशी मुलुकको रूपमा उल्लेख गरिनु, कोभिड–१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्रतिकार्य रणनीतिका कारण मृत्युदरलाई अन्य मुलुकको तुलनामा न्यून राख्न सफल हुनु, समयमै कोरोनाविरुद्धको खोप अभियानको थालनी हुनुजस्ता कार्य सकारात्मक उपलब्धि भएको जनाइन।

“तथापि कोरोनाको कहर हाम्रासामु अझै चुनौतीको रूपमा उभिएकै छ । कोभिड–१९ विरुद्धको खोप क्रमशः सबै नागरिकका लागि उपलब्ध हुँदै जानेछ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पूर्वसावधानीका उपाय अवलम्बन गर्दै दैनिक व्यावहारिक जीवन जारी राख्नका लागि म सबैलाई आह्वान गर्दछु”, सन्देशमा भनिएको छ ।

उनले कोरोना कहरको बीचमै रानीपोखरी, दरबार हाईस्कूललगायत भूकम्पबाट क्षतिग्रस्त भएका ऐतिहासिक संरचनाको पुनःनिर्माण सम्पन्न हुनुका साथै चिर प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँमा पानी वितरण शुरु गरिनुलाई २०७७ सालका उल्लेखनीय सामाजिक आर्थिक उपलब्धिको रूपमा लिन सकिने पनि जनाइन ।

राष्ट्रपतिको सन्देशमा भनिएको छ, “समयरूपी नदी निरन्तर बगिरहेको छ । समयको प्रवाहलाई कसैले रोक्न सक्दैन । जुन राष्ट्रले अमूल्य समयको अधिक उपयोग गर्न सके, ती राष्ट्रले सामाजिक आर्थिक विकासका शिखर चुमेका छन् । हामीले पनि समयको महत्वलाई आत्मसात् गर्दै पूर्वाधार विकासको प्रक्रियामा तीव्रतम रूपमा अगाडि बढ्नु पर्दछ ।”

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.