काठमाडौं । नेपालको रेल चढ्ने नेपालीहरुको ठूलो सपना हो । ६ महिनाअघि नेपालमा रेल ल्याइसकेपनि त्यो सपना भने अहिलेसम्म अधूरै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनताका देखाएको रेल चढ्ने सपना, गत असोजमा रेल आएपछि, अब भने पूरा हुन्छ भन्ने सबैलाई विश्वास थियो तर अहँ रेल आएको ६ महिना बितेर रेलमा खिया लागिसक्दा समेत सपना विपनामा परिणत भएन । कुर्था–जयनगर रेलमार्गमा अरु सबै किसिमका तयारी पूरा भयो तर कानून बन्न सकेन र रेल चलेन । कानून नभएर नचलेको रेल अब कहिले चल्छ, त्यो पनि टुंगो छैन । किनकी कानून बन्ने र बनाउने भन्दा सत्ताको जुहारीमा सरकार र दलहरु व्यस्त छन् । यसअघि नै सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरिसकेको छ । मात्र बन्न बाँकी छ कानून । कानून बने रेल चल्छ तर कहिले बन्छ त कानून ? जवाफ छैन । कानून बनेपछि मात्र रेलको इन्जिन नेपाल आउनेछ । त्यसैले अहिले न त कानून छ न त रेलको इन्जिन । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो रेलमार्ग गत आर्थिक वर्षमा नै सम्पन्न भएको थियो ।
रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग रेलको दुई सेट खरिद गरेको थियो । त्यहि रेल, गत असोजमा नेपाल ल्याइयो, भाडादर प्रस्ताव गरियो– ७५ रुपैयाँ तर गत पुषबाटै रेल सेवा सञ्चालन हुने भनिएपनि राजनीतिक खिचातानीको मारमा परेको छ प्रधानमन्त्री ओलीले देखाएको सपना–रेल चलाउने सपना । रेल आएपछि सञ्चालनका लागि आवश्यक जनशक्ति र अरु प्राविधिक तयारी गरिएको नेपाल रेल्बे कम्पनी प्रालिका महानिर्देशक गुरु भट्टराईले बताए । आवश्यक जनशक्ति र इञ्जिन ल्याउनका लागि भारत सरकारसँग सम्झौता भइसकेको कम्पनीले जनाएको छ । कानून नआउँदासम्म इञ्जिन ल्याउन नमिल्ने भएकाले ल्याउन नसकिएको उनले जानकारी दिए । रेलमार्गमा आवश्यक कतिपय जनशक्ति भारतबाट ल्याउनुपर्नेमा भारतीयसँग सम्झौता भइसकेको छ । तर कानून अभावमा रेलको डब्बामा खिया लाग्न थालिसकेको छ । यसअघि रेल्वे कम्पनी लिमिटेडले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कुर्था–जयनगर रेलमार्गका लागि भाडा प्रस्ताव गरेको थियो । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर मार्गका लागि ७५ रुपैयाँ भाडा तिर्नुपर्ने प्रस्ताव गरिएको छ । डिलक्स सिटका लागि भने ३ सय ७५ रुपैयाँ भाडा प्रस्ताव गरिएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन ल्याइएको थियो । सो रेलमा एक हजार २ सय देखि एक हजार ३ सय जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिने कम्पनीले जनाएको छ ।
राणा र ब्रिटिसका पाला बनेको ‘न्यारोगेज’ विस्थापित गरेर अहिले ‘ब्रोडगेज’ रेलमार्ग बनेको छ । विगतमा ‘न्यारोगेज’ रेलले जनकपुरदेखि जयनगरसम्म २९ किलोमिटर यात्रा गर्न दुईदेखि तीन घन्टा लगाउँथ्यो । अब ब्रोडगेज सेवा सुरु भएपछि एक घन्टामा पुग्न सकिनेछ । ब्रोडगेज रेलमा कम्तीमा १० देखि १५ डब्बा जोड्न सकिनेछ । नेपालमा पहिलोपटक ९३ वर्षअघि रेल चलेको हो । ब्रिटिस र राणाकालमा रक्सौल–अमलेखगन्ज रेलमार्ग पनि बनेको थियो । चन्द्रशमशेरको पाला विक्रम सम्वत १९८४ रक्सौलबाट अमलेखगन्जसम्म रेल आएको थियो । त्यस्तै जयनगर जनकपुर महोत्तरी रुटमा पनि ८३ वर्षअघि रेल सञ्चालनमा आएको हो । भारतस्थित ब्रिटिस शासकले महोत्तरीको जंगलबाट काठ ढुवानीका लागि जनकपुरबाट महोत्तरीको बिजुलपुरासम्म ५२ किलोमिटर रेल्वे सुरु गरेको थियो । पछि रेललाई नेपाल जिम्मा लगाएपछि यात्रु बोक्न थालिएको थियो । तर २०५९ सालको बाढीले महोत्तरीको बिग्ही नदीमा रहेको पुल भत्काएपछि जनकपुरदेखि बिजलपुरासम्मको रेल सेवा पूर्णरुपले बन्द भएको थियो ।
पछि, नेपालमा रेलमार्ग निर्माण गर्ने योजना आर्थिक वर्ष २०६६/६७ बाटै सुरु भएको हो । रेल यातायातको विकास गर्ने सरकारी योजना कार्यान्वयन गराउन सरकारले २०६८ असार १ गते रेल विभाग स्थापना गरेको थियो । त्यसपछि गत असोजमा ल्याइएको रेलको डिब्बा थन्किएको छ। नेपाल टाईम्सबाट