पुस्तकमा मात्र सीमित भएको ज्ञान र आफ्नो वशमा नरहेको सम्पत्तिको कुनै अर्थ हुँदैन । विश्वविद्यालय (युनिवर्सिटी) त्यो संस्था हो जसमा सबै प्रकारको विद्याहरूको उच्च कोटिको शिक्षा दिइन्छ, परीक्षा लिइन्छ तथा मानिसहरूलाई विद्या सम्बन्धी उपाधीहरु आदि प्रदान गरिन्छ। तर यस्तो मुक्का हान्ने लेक्चरर् दादाहरूलाइ कुन उपाधी दिन्छ जान्ने इच्छा तिब्र जागेकोछ । परम्परागत प्राप्त मानवज्ञानको संरक्षण, नवीन ज्ञानको संरक्षण, नवीन ज्ञानको अनुसंधान, संवर्धन एवं प्रसार विश्विद्यालहरुका प्रमुख कार्य हुन तर यो मुक्का हान्ने तालिम प्रदान गर्ने कार्य वश्वविद्यालयले गर्छ कि गर्दैन ?
त्रिविले २०७२ सालबाट चरणवद्द रुपमा लागु गरेको अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त र मान्यता प्राप्त शैक्षिक प्रणालीको रुपमा रहेको सेमेस्टर प्रणााली ६ महिनामा परीक्षा संचालन हुने परीक्षा प्रणाली मात्र हैन यो त विद्यार्थीको ज्ञान, सीप र क्षमता निखार्ने र तिखार्ने शैक्षिक प्रक्रिया हो, जसले उच्च शिक्षालाई गहन, बृहत्तर र अन्तराष्ट्रिय पहिचान कायम गराउन पर्ने हो, विद्यार्थीको शैक्षिक उपलब्धि बृद्धि गर्न सक्नु पर्ने हो, अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्नु पर्ने हो, परम्परागत शिक्षण प्रक्रियालाई आधुनिक नवप्रर्वतन विधि द्दारा विस्थापित गर्न पर्ने हो, प्राज्ञिकरुपमा दक्ष जनशक्तिको विकास गर्न पर्ने हो, स्वच्छ आन्तरीक मुल्यांकन गरेर विद्यार्थीको प्रतिस्पर्धी क्षमता वृद्धि गर्नु पर्ने हो, विद्यार्थीहरुलाई अध्यायन अनुसन्धानमा व्यस्त राख्न पर्ने हो, एउटै शैक्षिकसंस्था भित्र रहेका शिक्षक शिक्षक, विद्यार्थी विद्यार्थी तथा विद्यार्थी र शिक्षक विच सहकार्य र सहयोगको भावना विकास हुन पर्ने हो । तर ठिक उल्टो दिशामा विश्वविद्यालय किन ?
विद्यार्थी भर्नाका दृष्टिले त्रिभुवन विश्वविद्यालय विश्वको बाह्रौं ठूलो विश्वविद्यालय हो । करिब ३ लाख ३५ हजार विद्यार्थी, साढे ७ हजार हाराहारी शिक्षक र करिब त्यत्तिकै संख्यामा कर्मचारी रहेको यस विश्वविद्यालयको भौतिक सम्पत्ति पनि राष्ट्रव्यापी रूपमै बृहत् छ । विश्वविद्यालयहरूको स्तर निर्धारण गर्दा यी पक्षले पनि निःसन्देह महत्त्व राख्छन् । यसका अलावा शिक्षण पद्धति, अनुसन्धानको गुणस्तर, अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक र अनुसन्धानमूलक संस्थाहरूसँगको अन्तरसम्बन्ध आदि पक्षले पनि स्तर निर्धारणमा भूमिका खेल्छन् जस मध्यको एक हो त्रिवि सेवा आयोग र यसले भर्ना गरेका लेक्चरर् तथा कर्मचारीहरु ।
शिक्षण र अनुसन्धानमा सुधार नगरी विश्वविद्यालयहरूले गुणात्मक फड्को मार्न सक्दैनन् । हाम्रो शिक्षण पद्धतिलाई थप सिर्जनात्मक र वैज्ञानिक बनाउनुपर्ने खाँचो छ । चाणक्यले भनेका छन्—
पुस्तकेषु च या विद्या परहस्तेषु यद्धनम्।
उत्पन्नेषु च कार्येषु न सा विद्या न तद्धनम्।।
अर्थात्, पुस्तकमा मात्र सीमित भएको ज्ञान र आफ्नो वशमा नरहेको सम्पत्तिको कुनै अर्थ हुँदैन । काम लिन सकिएका खण्डमा मात्रै तिनले शक्तिको सञ्चार गराउँछन् । जनवादी शिक्षाको आवश्यकता भनेको पनि यही हो । सिकेको ज्ञानका कारण जब वैज्ञानिक चिन्तन, कार्यकुशलता र अनावश्यक वस्तुहरूलाई छोड्दै जाने प्रवृत्तिको विकास हुन्छ, हाम्रो शिक्षा प्रणाली सही बाटोमा आउँदै जान्छ ।
शिक्षक शब्दमा प्रयोग भएको अक्षर शि ले `शिखरमा लैजाने मान्छे` , क्ष ले `क्षमा गर्ने ब्यक्ति` र क ले `कमजोरी दूर गर्ने ब्यक्ति´ लाई पनि जनाउँन सकिन्छ ।अल्बर्ट आइस्टिनले भन्नुभएको छ, ‘आफ्ना विद्यार्थीमा सिर्जनात्मक भावना र ज्ञानको आनन्द जगाउनु नै एक शिक्षकको महत्वपूर्ण गुण हो ।’ आध्यात्मिक परिभाषा हेर्ने हो भने त शिक्षक शब्द अझै अपूर्ण हुन्छ । अध्यात्ममा गुरु (शिक्षक) अर्थात् गु- गुण,रू- रूप ‘अन्धकारबाट उज्यालोतर्फ लैजाने’ भनेर व्याख्या गरिएको छ, जसको अर्थ विशाल छ । प्राचीनकालमा गुरु-शिष्यको सम्बन्ध पिता-पुत्रको जस्तो हुन्थ्यो । विश्वामित्र र द्रोणाचार्य यस्ता गुरु थिए, जसको चरणमा भगवान्ले पनि शिर झुकाउँथे रे । वर्तमान परिप्रेक्ष्यमा शिक्षक-विद्यार्थीको यस्तो आदर्श सम्बन्ध हुन्छ कि हुँदैन सोचनीय नै छ । वर्तमान समयमा कस्तो सन्देश गएको छ भने शिक्षक, लेक्चरर्, पोफेसर अरू केही नपाएपछि मात्र अँगाल्ने पेसा हो । शिक्षक-शिक्षिका प्रेमको खानी हुन सक्नुपर्छ । प्रेमले नै संसार जित्न सक्दछ । विद्यार्थीको मनोभावनामा नकारात्मक असर पुर्याउने अधिकार कसैलाई छैन । विद्यार्थीले जति सिक्छन् त्यो सकारात्मक कुरा मात्र सिकून्, प्रसन्न भएर सिकून् अनि उनीहरूमा छिपेको खुबी आफैं प्रस्तुत गर्न नडराऊन् । त्यो पो हो शिक्षा ।
जोन एडम्सले शिक्षकलाई मानवको निर्माता मानेका छ्न् भने वाइल्डले विद्यार्थीलाई खुशी राख्ने ब्यक्ति । त्यस्तै रुसोले विद्यार्थीको पन्ना पन्ना पढ्ने ब्यक्तिको रुपमा हेरेका छ्न् भने प्लेटोले शिक्षकले विद्यार्थीको प्रकृति थाहा पाउने ब्यक्ति भनेका छ्न् । शिक्षक त्यो हो जसले सिकाइका लागि प्रेरणा दिने,बाटो देखाउने निर्देशित गर्ने, हौसला प्रदान गर्ने र ज्ञानलाई माया गर्ने गर्दछ । कहिले शिक्षकलाई आफू जलेर अरुलाई उज्यालो बनाउने बत्तीसगँ तुलना गर्ने गरिन्छ । कहिले नदिमा डुङ्गा खियाउने माझी जस्तै शिक्षक पनि हो भन्ने गरिन्छ । शिक्षक तीनवटा `प` प्रविधि, पेडागोजी र परिवर्तित ज्ञानको ज्ञाता हो भनिन्छ । तर हाम्रो त्रिवि सेवाले किन मुक्का हान्ने शिक्षक मात्र पठाउ छ ? ज्यान मार्ने धम्कि दिने प्राध्यापक मात्र उत्पादन गर्छ ?
हिजो मात्रै जन प्रशासन केन्द्रिय विभागमा विदेशबाट डाक्टर उपाधी ल्याएर भित्रिएका र विश्वविद्यालयले शिक्षक बनाई पठाएका २ जना शिक्षक दादाहरुले मुक्का हानाहान गरेछन। कारण के हो भनेर बुझ्दा प्रोफेसर नरेन्द पौडेलले वएलकम ब्याक भन्नु भए छ, लेक्चरर् लक्ष्मीकान्त पौडेलले मलाई वएलकम गर्ने तं को होस भनेर मुक्का हान्नु भएछ । प्रहरीले कालीमाटी लगेछ लक्ष्मीकान्त दादालाई अनि लक्ष्मीकान्त दादाले लिखित माफी मागेर छुटेर आउनु भएछ । अब हामीलाई कुन अनुहार लिएर पढाउन आउने होलान । भेट भए उनलाई दादा भन्ने होला की सर ? नैतिकता खोई ? विन्ती छ त्रिवि सेवा आयोग अब उप्रान्त यसरी मुक्का हानाहान गर्ने दादाहरुलाई लेक्चरर बनाएर नपठाइदिनु । म विद्यार्थी हूँ र पनि सम्झांए हेर केटाकेटी हो झगडा गर्नु हुन्न भनेर, तर तिनिहरुले कतिको लाज माने मैले बुझेको छैन । फेरी पनि आदर्शका गफ चुट्न क्लासमा छिर्लान त ? हेर्न बाँकी नै छ । विद्यार्थीले कुन नजरले हेर्लान ?
ह्वाइटहेडले भने जस्तै सम्पूर्ण कुरा शिक्षकमा भर पर्छ । शिक्षक ले आफूले के भन्छ ? भन्दा पनि के गर्छ ? ले आफ्ना विद्यार्थीमा प्रभाव पार्छ । खासगरी कमजोर विद्यार्थीमा प्रभावकारी शिक्षण गर्ने ब्यक्ती शिक्षक हो कि शिक्षक बालकको एउटा रोड मोडल हो । जोहन डिवेले शिक्षक बालबालिकालाई जीवनको जटिल क्षणमा निर्देशन दिने ब्यक्तिको रुपमा हेरेका छ्न् । उनी भन्छ्न्- शिक्षक एउटा असल मित्र हो; एक दार्शनिक हो र एक पथप्रदर्शक हो । “शिक्षक शिक्षाको त्रिपक्षिय प्रक्रिया शिक्षक- विद्यार्थी र सामाजिक बाताबरणको एक ससक्त पक्ष हो। किर्किगाडले शिक्षक जो हो त्यो होइन र जो होइन त्यो हो भनेका छ्न् । त्यस्तै पियाजेटले शिक्षकलाई सहजकर्ताको भुमिकामा हेरेका छ्न् । भनिन्छ,”शिक्षक उड्यो भने विद्यार्थी दौडन्छ ,शिक्षक दौड्यो भने विद्यार्थी हिड्छ, शिक्षक हिड्यो भने विद्यार्थी बस्छ, शिक्षक बस्यो भने विद्यार्थी सुत्छ, शिक्षक सुत्यो भने विद्यार्थी मर्छ ।” शास्त्रमा संस्कृत श्लेक “गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः ।।” ले गुरुलाई आदर्श पुरुषको रुपमा मानेको छ । निष्काम कर्म मार्गदर्शन सिद्धान्त भएको ब्यक्ति गुरु । त्यस्तै “प्रेरकः सूचकश्वैव वाचको दर्शकस्तथा । शिक्षकको बोधकश्चैव षडेते गुरवः स्मृताः ॥” ले प्रेरणा दिने, सूचना दिने, सत्य बताउने, बाटो देखाउने, बोध गराउने ब्यक्ती गुरु भनेर ब्याख्या गर्छ ।
जब सिकारु र सिकाउने व्यक्तिका बीचको सम्बन्धमा हार्दिकता र परस्पर विश्वासको विकास हुन्छ, त्यसपछि मात्रै सिकारुको सिकाइले छलाङ मार्छ। र शिक्षालयको उद्देश्य पूरा हुन्छ। तसर्थ, प्रभावकारी सिकाइका धेरै पाटा हुनसक्छन्, धेरै पक्ष हुन सक्छन्। तर, सबैभन्दा ठूला, महत्त्वपूर्ण र आवश्यक पक्ष भनेको सिकाउने र सिकारु नै हुन्।
पानी एक रङ बिहिन, स्वाद बिहिन, वा गन्ध बिहिन रसायनिक पदार्थ हो। पानी पृथ्वीको एक मुख्य घटक हो। यसले पृथ्वीको प्रकृतिक धाराहरु, तालहरू, र महासागरहरू, र अधिकांश जीवित जीवहरूको तरल पदार्थ बनेको हुन्छ। यसले कुनै क्यालोरी वा जैविक पोषण प्रदान गर्दैन तर पनि यो सबै ज्ञात प्राणीहरूको जिवनको आधार हो। त्यस्तै जिवनको अधार हो शिक्षक पनि । तर त्यो ज्यान मार्ने धम्कि दिने , मुक्का हान्नेहरूलाइ कसरी जीवनको अधार मान्न सकिएला र ?
धर्मराज तिमिल्सीना