KhabarUjyalo

चुनावका बेला ‘फेक न्युज’ को कारखाना नै खुल्न सक्छ, सचेत हुनुहोस् : प्रेस काउन्सिल अध्यक्ष

७ बैशाख २०७९, बुधबार
चुनावका बेला ‘फेक न्युज’ को कारखाना नै खुल्न सक्छ, सचेत हुनुहोस् : प्रेस काउन्सिल अध्यक्ष

काठमाण्डौ – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावका बेला फेक न्युजको कारखाना नै खुल्न सक्ने बताउँदै समाचार छाप्नुअघि सचेत रहन सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभएको छ । विभिन्न सञ्चार संस्था भन्दै स्वदेश र विदेशबाट त्यस्ता प्रायोजित समाचार बन्न सक्ने भन्दै नेपाली मिडियाले साभार गर्दा विशेष ख्याल पुर्याउनुपर्ने उहाँको सुझाव थियो । 

निर्वाचन आयोगले प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घको सहकार्यमा आज मङ्गलवार आयोजना गरेको सञ्चारकर्मीहरूको एक दिने अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले मिथ्या सूचना (फेक न्युज), दुयप्रचार र गलत समाचार दिनबाट जोगिनुपर्ने बताउनुभयो ।

‘चुनावका बेला दिग्भ्रमित बनाउनका लागि फेक न्युजका कारखाना खुल्न सक्छन् । कुनै समाचार संस्थाको नामबाट त्यो आउन सक्ला । हामीले हतारिएर त्यसलाई कभरेज गर्नतिर नलागौँ । आफैँले स्वतन्त्र पुष्टि गरौैँ’, उहाँले भन्नुभयो । 

उहाँले विश्वसनीयताकै कारण पत्रकारिता जगत बलियो हुने भएकाले त्यसलाई जोगाउन आफैँ जुट्न सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो । 

आयोगले चुनावका क्रममा मिडियाको आचारसंहिताबारे अनुगमनको जिम्मेवारी काउन्सिललाई दिएको छ । काउन्सिलले रेडियो, टिभी, छापा, अनलाइन र सामाजिक सञ्जालको अनुगमनको काम वैशाख १ गतेदेखि नै सुरु गरिसकेको जानकारी दिँदै आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल कारबाही हुने समेत उहाँले बताउनुभयो । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo