काठमाण्डाै – पुष्पराम केसी सशस्त्र प्रहरी बल नेपालको १९ दिनका लागि प्रहरी महानिरीक्षक (आईजीपी) बन्नुभएको छ । यसअघिका महानिरीक्षक शैलेन्द्र खनालले गएकाे साेमवार आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाएपछि २०७८ चैत ३० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सरकारले केसीलाई ११ औँ महानिरीक्षकमा बढुवा गरेको हो ।
खनाल महानिरीक्षक भएको चार वर्ष नपुगेको भए अहिलेका आईजीपी केसी अतिरिक्तबाटै बाहिरिनुपर्ने थियो । खनालको ३० वर्षे सेवा अवधि हिसाब गर्ने हो भने केसीसँगै अवकाश पाउनुहुन्थ्यो तर सशस्त्रमा महानिरीक्षक भएको चार वर्ष पुगेपछि पनि अनिवार्य अवकाश हुने बाध्यकारी व्यवस्था केसीका लागि अवसर बन्न पुग्यो ।
सशस्त्रमा ३० वर्ष सेवा अवधि वा आईजी भएको चार वर्ष जुनअघि आउँछ त्यही मितिबाट अनिवार्य अवकाश लिनुपर्ने व्यवस्था छ । आईजीका प्रतिस्पर्धीमा उहाँसँगै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल पनि हुनुहुन्थ्यो तर वरीयताका आधारमा सरकारले केसीलाई पदोन्नति गरेको हो । तीस वर्षे सेवा अवधिका कारण उहाँहरू यही वैशाख १८ गते अवकाश लिँदै हुनुहुन्छ ।
विसं २०२३ भदौ १५ गते नुवाकोटको तलाखु ३ मा जन्मनुभएका सशस्त्र प्रहरी महानिरीक्षक केसी अहिले काठमाण्डाैकाे हात्तीगौडामा बस्नुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट एमपीए गर्नुभएका केसी २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सत्य, सेवा, सुरक्षणमकाे झण्डामुनि रहेर सेवा दिन तल्लिन हुनुभयो ।
विसं २०५८ वैशाख ४ गते नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बल नेपालमा स्थानान्तरण हुनुभएका सशस्त्र प्रहरी महानिरीक्षक केसी नेपाल सरकार मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको थियो । महानिरीक्षक केसी सुकीर्तिमय राष्ट्रदीप (तृतीय), सुप्रबल जनसेवाश्री तेस्रो, वीरेन्द्र ऐश्वर्य सेवा पदक, गोर्खा दक्षिणबाहु चौथो, प्रसिद्ध सेवा पदक, यूएन सेवा पदक, परदेश सेवा पदक, गद्दी आरोहण रजत पदक, दुर्गम सेवा पदकलगायत १२ विभुषण, मानपदवी, पदक तथा अलङ्कारबाट विभूषित हुनुभएको छ ।
केसीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानवस्राेत विभाग, कार्य तथा सीमा सुरक्षा विभाग, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, एपीएफ कमान्डा तथा स्टाफ कलेज, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा निर्देशनालय, सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालय, तालिम केन्द्र, गणलगायत कार्यालयको प्रमुख भएर जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँले सशस्त्र प्रहरीको नेतृत्व सम्हालेलगत्तै सशस्त्र प्रहरी कर्मचारीबाट राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रमा निःस्वार्थ भावनाका साथ व्यावसायिक भइ कुशलतापूर्वक कार्यसम्पादन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
सशस्त्र प्रहरी कर्मचारीले आउँदाे दिनमा समेत नियुक्तिका क्षेत्रहरूमा उच्च हौसलाका साथ चेन अफ कमान्ड, फौजी मर्यादा र अनुशासनमा रही सामूहिक भावनाका साथ कार्यक्षेत्रमा क्रियाशील हुन केसीले अपेक्षा गर्नुभएको छ । सङ्गठन सुदृढीकरणका लागि योजना प्रस्तुत गर्नुहुँदै उहाँले सशस्त्र प्रहरी बल नेपालको जनशक्तिको समयसापेक्ष र वैज्ञानिक ढङ्गले परिचालन, प्रभावकारी सीमा सुरक्षा व्यवस्थापन, आवश्यकताअनुसार ऐन नियम तथा निर्देशिका परिमार्जन, सङ्गठन व्यवस्थापनमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।