एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । पुणेमा गएराति सम्पन्न खेलमा मुम्बईलाई ५ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको हो ।
मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकताले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको थियो । कोलकताका पाट कुमिन्स र भेन्काटेस आयरले अर्धशतकीय पारी खेलेका थिए । कुमिन्स अविजित ५६ रन र भेन्काटेस ५० रन जोड्न सफल भए । मुम्बईका लागि मुरुगान आश्विन र ट्यामल मिल्सले दुई/दुई विकेट लिएका भने ड्यानियल साम्सले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६१ रन जोड्यो ।
मुम्बईका सूर्यकुमार यादवले ५२ रनको अर्धशतकीय पारी खेल्दा कोलकाताका पाट कुमिन्सले दुई तथा उमेश यादव र वरुण चक्रवर्तीले एक/एक विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको कोलकाताको ४ खेलमा ६ अंक भएको छ । योसँगै लगातार तेस्रो हार व्यहोरेको मुम्बईले अंक भने जोड्न सकेन ।