काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–२ का भीमबहादुर बुढाले यो वर्ष १३ क्विन्टल कागुनो फलाए । सबै कागुनो संघीय राजधानी काठमाडौं पुग्यो । ‘घरमा कसैले मिठो मान्दैनन् तर जग्गा किन बाँझो राख्नु भनेर कागुनो लगाएँ,’ उनले भने, ‘फलेपछि काठमाडौंका व्यापारीले फोन गरी सबै उतै मगाए ।’
जुम्लाका व्यवसायी शूरबहादुर शाहीले यो वर्ष काठमाडौंमा ३ मेट्रिक टन मार्सी धान पठाएका छन् । कर्णालीका हिमाली जिल्लामा ‘सेतो चामल’ लाई मात्र खाद्यान्न मान्ने प्रवृत्ति छ, जसका कारण कर्णालीमा खाद्यान्न अभावका खबर धेरै आउँछन् । तर कर्णालीले कालीमार्सी धान, चिनो, कागुनो, कोदो, फापरलगायत खाद्यान्न काठमाडौंसम्म पठाइरहेको छ । ‘कुनै बेला गरिबको खाना मानिने कर्णालीको अन्नको माग अहिले सम्भ्रान्त परिवारमा धेरै छ,’ शाहीले भने, ‘पहिलो चिनो, कागुनो र मार्सी गरिबले खान्थे, स्वास्थ्यवर्द्धक भएपछि अहिले धनीहरूले त्यही चिज महलमा खान थाले ।’
स्थानीय बजारमा कर्णालीको चिनो १ सय ६०, कागुनो १ सय ५० र मार्सी चामल १ सय ८० रुपैयाँमा बिक्री हुन्छ । त्यही खाद्यान्न काठमाडौंसम्म पुग्दा २ सय ५० देखि ७ सय रुपैयाँमा बिक्री भइरहेको छ । गत साल हुम्लामा ७८ हेक्टरमा कागुनोको खेती गरिएकामा ८१ मेट्रिक टन उत्पादन भयो । ‘हामी त भातलाई नै अन्न मान्थ्यौं,’ बुढाले भने, ‘अब त हाम्रो अन्न नै चामलभन्दा महँगो हुन थाल्यो ।’ हुम्लामा कालो कागुनोको खेती बढी हुन्छ । कालो कागुनो स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण रहेको आयुर्वेद चिकित्सक भक्तबहादुर केसीले बताए । ‘कालो कागुनो सुत्केरीलाई खुवाउने गरिन्छ,’ उनले भने, ‘यसले आमा र बच्चालाई सबैखाले रोगसँग लड्न शक्ति प्रदान गर्छ ।’ कुपोषणको समस्यालाई पनि कागुनोले हल गर्ने उनले जानकारी दिए ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।