काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्नेतर्फ पार्टी लाग्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन सर्लाहीले आज गरेको पत्रकार सम्मेलनमा सांसदसमेत रहेका नेता थापाले यस्तो बताउनुभएको हो ।
‘पहिले सरकारमा जाने–नजाने भन्दा पनि सरकार कसरी हटाउने भन्नेमा अब काँग्रेसले ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो ।
ओलीलाई विदा गर्न कांग्रेसका नेता–कार्यकर्ताले अरूको मुख ताक्नुभन्दा आफैँले भए पनि अविश्वासको प्रस्ताव ल्याउन अग्रसर हुनुपर्ने उहाँको भनाइ छ ।
यसैबीच, आजै कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीलाई छलफलका लागि बोलाउनुभएको छ ।
संसद्मा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन अहिले केहिछिनपछि बूढानीलकण्ठस्थित निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभएको छ ।
पार्टी पदाधिकारी तथा शीर्षस्थ नेताहरुबीच छलफल गरेर शुक्रबारको संसदीय दलको बैठकबाट संसद्मा पार्टीको भूमिकाबारे नीति तय गर्ने बुझिएको छ ।
सरकारमा सहभागिताबारे पार्टीमा दुई मत बाहिर आएपछि देउवाले संसद् पुनःस्थापनापछि दोस्रो पटक पदाधिकारी बैठक बोलाएर छलफल गर्दै हुनुहुन्छ ।
देउवाले पदाधिकारी, संसदीय दल र पार्टी केन्द्रीय कार्यसमितिको छलफलबाट ठोस नीति अख्तियार गर्ने तयारी थाल्नुभएको छ । शनिबारका लागि केन्द्रीय समिति बैठक बोलाउने देउवाको तयारी छ ।