KhabarUjyalo

केपी समूहलाई समर्थन नगरेको भन्दै ३ कर्मचारीलाई बर्खास्त

२० फाल्गुन २०७७, बिहीबार
केपी समूहलाई समर्थन नगरेको भन्दै ३ कर्मचारीलाई बर्खास्त

जाजरकोट : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी समूहलाई समर्थन नगरेको भन्दै भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले ठाडो निर्देशन दिँदै तीन कर्मचारीलाई बर्खास्त गरेका छन्‌। 

ओली समूहका केन्द्रीय सदस्य रहेको मेयर घर्तीले नगरपालिकामा कार्यरत एमआइएस अपरेटर पवन शर्मा, सरोज वली र सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मालाई मंगलबार बर्खास्त गरेका हुन्।

कर्मचारी हटाउन प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बुढाले उठाएको टिप्पणी मेयर घर्तीले सदर गरेका छन्। कर्मचारी बर्खास्त अधिकृतले नै गर्नुपर्ने भएपनि मेयर आफैँले सदर गरेका हुन्।  तीन जना कर्मचारीलाई सोधिएको पत्रमा लेखिएको छ, ‘तपाईंहरू प्रचण्ड र माधव समूहको प्रेस संगठन कर्णाली प्रदेश सदस्य रहेको कारण किन बर्खास्त नगर्ने?’

सोधिए बमोजिम स्पष्टीकरण दिएका तीनै जनाले आफूहरू कुनै पक्षमा नलागेको, तर विगतदेखि नै प्रेस संगठनमा रहेको जानकारी गराएका थिए। उनीहरूले प्रेस संगठनमा रहेपनि काममा बाधा कुनै पनि नपारेको पत्रमा लेखेका छन्।

पवन शर्मालाई केपी ओली गुटको जाजरकोटको संयोजक बनाएर बधाई दिएका मेयरले त्यसको एक हप्तापछि प्रचण्ड र माधव गुट निकट पत्रकारको कर्णाली प्रदेश सदस्यमा तीनै जना कर्मचारीको नाम देखेपछि बर्खास्त गरेका हुन्। 

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले विज्ञप्ति जारी गरी आस्थाकै आधारमा कर्मचारी बर्खास्त गर्नु राम्रो काम नभएको बताउँदै तुरुन्तै यो कारबाही फिर्ता गर्न आग्रह गरेको छ। कर्मचारी हटाएपछि जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दर्ता गरिएको छ। 

फागुन १७ गते स्पष्टीकरण माग गरेकोमा उनीहरूले स्पष्टीकरण पेश गरेको, तर फागुन १८ गते कर्मचारीलाई बर्खास्त गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको युनियनको जनाएको छ। थाहाखबरबाट

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo