काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा बिहीबार फैसला सुनाउने भएको छ ।
गत बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाइ सकेर निर्णय सुनाउने मिति फागुन २० गतेलाई तोकेको हो ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो ।
आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट निवेदन दर्ता गरेका थिए ।
आफ्नो पार्टीको नामसँग मिल्ने गरी केही संकेतमात्रै थपेर दल दर्ता गरिएको भन्दै कट्टेलले त्यसअघि निर्वाचन आयोगमा पनि उजुरी दिएका थिए । तर आयोगले कात्तिक ९ गते सत्तारुढ नेकपाकै पक्षमा निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध कट्टेल सर्वोच्च अदालतमा पुगेका हुन् ।