Khabar Ujyalo

५० रुपैयाँमा सादा खाना, ६० मा मासुभात !

१८ फाल्गुन २०७७, मंगलवार
५० रुपैयाँमा सादा खाना, ६० मा मासुभात !

काठमाडौं । माइली श्रेष्ठ वसन्तपुर आसपास नाङ्लो पसल चलाउँछिन् । उमेरले ७० काटिसक्दा पनि उनलाई तातो पानी तताएर दिने कोही छैन । त्यसैले उनी फुर्सदमा घरमै खाना बनाउँछिन् त कहिले होटेल पुग्छिन् । काठमाडौंको भीमसेन स्थान परोपकार स्कुलअगाडिको एक रेस्टुरेन्टमा बाह्रखरीकर्मी पुग्दा उनी पनि त्यहीँ खाना खान पुगेकी थिइन् ।

आफूले थैलीमा राखेको ५० र १० रुपैयाँको नोट झिकिन् र मासु भात अर्डर गरिन् । अर्डर गरेको केही बेरमै थालीमा भात, तरकारी, दाल, अचार, सलाद आइपुग्यो । एक कप चिया र बिस्कुटको मूल्यमा मासु भात खान पाएकामा उनी मख्ख थिइन् । त्यो रेस्टु रेन्टमा उनीजस्तै दैनिक नाङ्ले पसल राखेर आफ्नो गुजारा चलाउने, कालीमाटीमा भारी बोक्नेदेखि विद्यार्थीहरू थिए ।

त्यही एक कुनामा मनबहादुर खत्री पनि खाना खाँदै थिए । उनी विगत १३ वर्षदेखि कालीमाटीमा भारी बोक्ने गर्दारहेछन् । रोल्पाबाट भारी बोक्नै भनेर काठमाडौं छिरेका खत्रीको कहाँ खाना खाने भन्ने टुंगो थिएन । विगत दुई महिना देखि उनको दैनिक खाना खाने ठाउँ बनेको छ ‘खाना सबैलाई’ रेस्टुरेन्ट ।

को’रोना महामारीले निम्त्याएको आर्थिक सं’कटबाट दीर्घकालीन राहत स्वरुप लक्षित वर्गलाई न्यून मूल्यमा खाना उपलब्ध गराउने उद्देश्य साथ आफूहरूले ‘खाना सबैलाई’ रेस्टुरेन्ट सञ्‍चालन गरेको कृष्णहरि भट्टराई बताउँछन। काठमाडौंको भिमसेन स्थानमा ‘खाना सबैलाई‘ गैर-नाफामूलक रेस्टुरेन्ट कृष्णहरि भट्टराई, नवराज मोक्तानलगायत जम्मा पाँचजना सदस्यले स्थापना गरेका हुन् ।

उनीहरूले साधारण मानिस र न्यून आय भएकाहरूलाई भनेर छुट्टा छुट्टै मूल्यसूची बनाएको छन् । न्यून आय भएका अर्थात् उनीहरूको ‘लक्षित वर्ग’का मानिसका लागि सहुलियत दर मात्र ५० रुपैयाँमा सादा खाना सेट (भात, तरकारी, दाल, अचार, सलाद) वा ६० रुपैयाँमा मासुसहित खाना खुवाइन्छ ।

यस्तै लक्षितवर्गभन्दा अरु अर्थात् पैसा तिरेर खान सक्नेले भने मासुसहितको खाना सेटलाई ११० रुपैयाँ र सादालाई १०० रुपैयाँ तिर्नुपर्छ। यही टिमले को’रोनाका कारण रोजगारी गुमाएर लामो समय काठमाडौंका विभिन्न स्थानमा नि:शुल्क खाना वितरण गरेको थियो।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.