काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् ।
शालिनलाई बलात्कार गरेको शव परीक्षणबाट देखिएको छैन । पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले बताएका छन् ।
कक्षा ८ मा अध्ययनरत छात्रा शालिन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् ।
घटनास्थलमा शालिनले छाडेको सुसाइड नोट भेटिएको थियो ।
तर मृतकका परिवार भने शालिनको बलात्कारपछि झुन्डिएर हत्या गरेको दावी गर्दै आएका छन् ।