बैतडी । भारतबाट स्वदेश फर्किने नेपालीमा कोरोना संक्रमण देखा पर्न थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरूमा संक्रमण देखिन थालिएको हो ।
सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकामा नियमित कोरोना परीक्षण जारी छ । यहाँका सीमा नाकामा परीक्षण गर्दा दैनिक रूपमा कोरोना संक्रमण देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । चैतयता मात्रै भारतबाट फर्किएका ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । ‘यो महिना कोरोना संक्रमण बढ्दै गएको छ। संक्रमित सबै भारतबाट फर्किएका रहेका छन’, उनले भने, ‘भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि सीमा क्षेत्रमा जोखिम बढेको छ ।’
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकाबाट हाल दैनिक रूपमा स्वदेश फर्किनेको क्रम पनि बढेको हो । नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकामा भारतबाट स्वदेश फर्किनेको संख्या पनि बढेको छ । बिसु पर्व मनाउन गाउँ फर्किनेको संख्या बढेकाले संक्रमणदर पनि वृद्धि भएको जोशीले बताए । नाकामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ ।
भारतमा संक्रमण तीव्र रुपमा फैलिरहेकोले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको जोशीले बताए । भारतका विभिन्न कोरोना संक्रमण देखिन थालेकोले त्यसको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि देखिन थालेको हो । ‘भारतमा दिनप्रतिदिन संक्रमण फैलिरहेको त्यसको प्रभाव यहाँ पनि परेको छ, सुदूरपश्चिम प्रदेश पनि जोखिममा छ’, उनले भने ।
जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गर्नुका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको छ । सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणमार्फत परीक्षण भइरहेको छ । संक्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेसनमा बस्न भन्ने गरिएको छ । प्रदेशभर हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ ।
भारतमा संक्रमण देखिएका शहरसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । ‘भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिममा नै त्यसको प्रभाव पर्न जाने भएकोले सतर्कता अपनाई, स्वास्थ्यका मापदण्ड पालना गर्न जरुरी छ’, उनले भने ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ४४ हजार ४५४ जनाको परीक्षण गरिएकोमा ६१ हजार ९२७ जनामा संक्रमण भइसकेको छ । संक्रमणकै कारण ६३५ जनाको मृत्यु भएको छ ।