KhabarUjyalo

मन्त्री पौडेल र भट्टको सुरक्षा गर्न नसकेको भन्दै प्रजिअ र दुई प्रहरी प्रमुखको सरुवा

१७ चैत्र २०७७, मंगलवार
मन्त्री पौडेल र भट्टको सुरक्षा गर्न नसकेको भन्दै प्रजिअ र दुई प्रहरी प्रमुखको सरुवा

सुरक्षा व्यवस्थापन गर्न नसकेको भन्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी र दुई प्रहरी प्रमुखको सोमबार एकै साथ सरुवा भएको छ । मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासका क्रममा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको सुरक्षा व्यवस्थापनमा कमजोरी गरेको भन्दै गृहमन्त्रालयले तीनै जनाको सरुवा गरेको स्रोतको दाबी छ । प्रजिअ पीताम्बर घिमिरे, प्रहरी प्रमुख एसपी प्रवीण पोखरेल र सशस्त्र प्रहरी प्रमुख एसपी भरत खनियाको सरुवा भएको हो ।

गत फागुन २१ गते सरकारले मोतीपुर औद्योगिक क्षेत्रमा तयारी बिनै शिलान्यास कार्यक्रम गरेको थियो । उद्योगका लागि अधिग्रहण गरेको जग्गामा आफूहरूको व्यवस्थापन नगरी ‘जबर्जस्ती’ शिलान्यास गरेको भन्दै स्थानीयले कार्यक्रम अवरोध गरेका थिए । अवरोधकै बीच शिलान्यास गर्न खोज्दा स्थानीयले मन्त्रीमाथि ढुंगा प्रहार गरेका थिए । असुरक्षा देखिएपछि मन्त्रीद्वयले कार्यक्रम छाडेर लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पुगे र पत्रकार सम्मेलनमार्फत कुरा राखेका थिए ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले प्रजिअको सरुवा भएको पुष्टि गरे । उनका अनुसार रूपन्देहीका प्रजिअ घिमिरेको पर्सा सरुवा भएको छ । रूपन्देहीमा पर्साका प्रजिअ अस्मान तामाङ आउने भएका छन् ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo