धनगढी : बझाङको दुर्गम गाउँमा जन्मिएर अमेरिकामा बसोबास गर्दै आएका भूगोलविद् तुलसीराम जोशी र उनकी पत्नी मर्लिनको सम्मानमा त्यहाँस्थित फेयरमोन्ट राज्य विश्वविद्यालयले उनीहरूकै नाममा कार्यालय स्थापना गरेको छ ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शैक्षिक केन्द्रका रूपमा स्थापित कार्यालयलाई ‘तुलसी र मार्लिन जोशी’ नाम दिइएको फेयरमोन्ट राज्य विश्वविद्यालय र फेयरमोन्ट राज्य कोषद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । जोशी दम्पतीले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सघाउन आर्थिक सहयोग गरेबापत उक्त सम्मान दिइएको विश्वविद्यालयले जनाएको छ ।
जोशी बझाङको छबिसपाथीभेरा गाउँपालिका ४ ब्यासीको तामाखानीमा जन्मिएका हुन् । उनी २०१३ सालमा बझाङकै सत्यवादी स्कुलबाट एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न अमेरिका गएका थिए । त्यसपछि उनले अमेरिकाकै विश्वविद्यालयमा लामो समयदेखि प्राध्यापन गर्दै आएका छन् । यसअघि उनले अमेरिकी राष्ट्रपतिबाट प्रेसिडेन्ट भोलेन्टियर पदक र स्टेट गभर्नमेन्ट पदकसमेत पाइसकेका छन् ।
उनले नेपालमा पनि विभिन्न विद्यालयलाई १ करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोग गरेका छन् । जोशीले बझाङका ३ र कैलालीका २ गरी ५ विद्यालयलाई सहयोग गरेका हुन् ।