काठमाडौ : पार्टीभित्र एकस्वर भएपनि कांग्रेस सभापति देउवा आफैंले चाहिँ अझै सरकार गठनको अग्ररसता लिएका छैनन् । उनको तर्क छ, ‘परिपक्व अवस्था अझै बनिसकेको छैन ।’
प्रवक्ता विश्वप्रकाश शर्मा पनि त्यही भन्छन् । ‘प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाएको छ, तर त्यसका लागि चाहिने वातावरण विकसित भइनसकेकाले धेरै अग्रसरता नलिएको हो’ उनले भने, ‘नेतृत्व लिनेतर्फ अलिकति रुची नै नराखेको र उदासिनता देखाएको चाहिँ होइन ।’ आफूहरु निरन्तर छलफलमा रहेका र उपयुक्त वातावरण बनेपछि सरकार गठनको नेतृत्व गर्ने उनले बताए ।
देउवा निकट नेताहरुको आशंका ३२ सांसद भएको जनता समाजवादी पार्टीतर्फ छ, जहाँ सरकारमा कसलाई समर्थन गर्ने भन्ने विवाद छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेताहरु कांग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउनुपर्छ भन्नेमा छन् । तर, महन्थ ठाकुर र राजेन्द्र महतो जसले मागमुद्दा सम्बोधन गर्छ, उसलाई समर्थन गर्ने भनेर तुलनात्मक रुपमा ओलीप्रति पनि नरम देखिएका छन् ।
ठाकुर प्रधानमन्त्री ओलीसँग निरन्तर सम्पर्कमा छन् । उनले पार्टीलाई समेत जानकारी नदिई प्रधानमन्त्रीको टोलीसँग वार्ता गर्न नेताहरु खटाएका थिए । यदि जसपा एकमतले कांग्रेस–माओवादीसँग गठबन्धन गर्ने निर्णयमा नपुगे सरकार गठनमा कुनै पनि बेला अप्ठ्यारो पर्नसक्ने देउवा निकट नेताहरुको दाबी छ ।
तर, कांग्रेस–माओवादीसँग गठबन्धन गर्नुपर्ने मत राख्ने जसपा नेताहरु भने कांग्रेस सभापति देउवाले सरकार गठनको अग्रसरता नलिँदा यो अवस्था आएको बताउँछन् । कांग्रेस सभापति देउवाले जसपाको संकेत कुर्ने र जसपा दोधारमै रहिरहने यो अवस्था कति दिन रहन्छ अनुमान गर्न कठिन भएको नेताहरु बताउँछन् ।