काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएपका साथै ईसेवा, आईएमई पे वालेट लगायतकाे दुरुपयोग गरी आफू अमेरिकाको नागरिक भएको भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-३ बस्ने सिरहा लाहान घर भएका २३ वर्षीय रञ्जित यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी विश्वास दिलाई पीडितहरुलाई विभिन्न इलोक्ट्रोनिक सामानहरु नेपालसम्म डेलिभरी गराई दिने प्रलोभनमा पारी रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा उनी संलग्न रहेका थिए ।
यादवलाई महानगरीय प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।