सिरहा, १ चैत । आइतबार जिल्ला मालपोत कार्यालय सिरहामा भएको बम बिस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ।
म बिस्फोटपछि विज्ञप्तिमार्फत केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको उल्लेख गर्दै मालपोत कार्यालय सिरहामा भ्रष्टाचार भइरहेकोले बम विस्फोट गराएको उल्लेख गरेका छन्।
आइतबार दिउसो करिब १२ बजे ४७ मिनेट जाँदा प्रेसर कुकर बम कारबाहीस्वरुप विस्फोट गराएको गोइत समूहले विज्ञप्तिमा भनेको छ । यस्तै, कार्यालयमा भ्रष्टाचार जारी नै रहे यसभन्दा उच्चस्तरको कारबाही गर्ने चेतावनीसमेत गोइत समूहले दिएको छ।
भारत–नेपाल तथा नेपाल–बेलायतबीच सन् १९५० भएको सन्धिको धारा–८ मा स्वतन्त्र तराई अर्थात् तराई स्वतन्त्र भए तापनि नेपाली शासकद्वारा तराई राष्ट्रमाथि बलपूर्वक गर्दै आएको विज्ञप्तिमा भनिएको छ । यस्तै, स्वतन्त्र तराई राष्ट्र मेचिदेखि महाकालीसम्म र महाभारत पर्वत शृंखलादेखि भारतको सिमानासम्मको भूभाग रहेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली औपनिवेशिक शासनबाट मुक्त नहुन्जेलसम्म लड्दै रहने दृढ प्रतिवद्धता व्यक्त गर्दछौँ ।’ साथै, बम विस्फोटको दुष्परिणामको भागिदार नेपाल सरकार र प्रदेश सरकार जिम्मेवारी हुनुपर्ने पनि विज्ञप्तिमार्फत गोइत समूहले भनेको छ ।
बम विस्फोटमा परेर कार्यालयका दुई कर्मचारीसहित आठ जना घाइते भएका थिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जनाएको छ।