काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभा सदस्य रामनारायण बिडारीलाई पदमुक्त गर्ने तयारी गरेका छन् ।
प्रचण्डको प्रस्तावमा सरकारको सिफारिसमा बिडारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ७ गते कानुन विज्ञका रूपमा राष्ट्रियसभामा मनोनीत गरेकी थिइन् ।
धारा ८६ उपधारा २ (ख) मा सरकारको सिफारिसमा राष्ट्रपतिले कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ ।
बिडारी, वामदेव गौतम र विमला राई पौडेल राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् । सर्वोच्च अदालतले एमाले र माओवादी एकीकरण खारेज गर्दै दुवै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि माधव नेपाल समूह एमाले मै रहने निर्णयमा पुग्यो ।
तर, नेकपा विवादमा ओली कित्तामा उभिएका पूर्वमाओवादी नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत एमालेमै रहने भएका छन् ।
दल त्यागसम्बन्धी व्यवस्थाअनुसार उनीहरू माओवादीमा नफर्किए पार्टीको सिफारिसमा सांसद पद जान्छ । यदि माओवादीले बादलसहित नेतालाई सांसदबाट हटाए ओलीले बादललाई राष्ट्रियसभामा लैजाने बचन दिइसकेका छन् ।
बादललाई संसद्मा ल्याउन बिडारीलाई हटाउने अन्तिम तयारी भइरहेको बालुवाटार उच्च श्रोतले जनाएको छ ।
ओलीले आफूलाई अप्ठेरोमा बाँध थापेको भन्दै एमाले उपाध्यक्ष र राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य बनाउने तयारी गरेपछि बादलले पूर्वमाओवादीमा नफर्कने निर्णयमा पुगेका हुन् ।
सरकारकै सिफारिसमा नियुक्त भएकाले सरकारले फिर्ता गर्ने सिफारिस गर्ने बित्तिकै राष्ट्रपतिले बिडारीलाई पद मुक्त गर्न सक्ने भन्दै ओलीले बादललाई विश्वस्त बनाएका छन् ।
माओवादी केन्द्रले बादलसहितका नेतालाई सांसदबाट हटाएको एक-दुई दिनभित्रै बिडारीलाई हटाउने निर्णय गरिहाल्ने तयारी बालुवाटारको छ ।