काठमाडौं । अहिले विश्वको सबैभन्दा ठूलो अमेजन वर्षावन माथि निकै ठूलो खतरा मडारिरहेको छ । याे दक्षिण अमेरिकाको अमेजन नदीको प्रमूख स्रोतको रूपमा रहेको जङ्गल हो । यसको क्षेत्रफल ५,५००,००० वर्ग किलोमिटर छ, जुन दक्षिण अमेरिकाको ९ वटा राष्ट्रहरूको भूभागमा पर्दछ ।
करिब ३० लाख प्रजातिका वनस्पति र जनवारहरुको बसोबास रहेकाे अमेजनको वर्षावनलाई अहिले भूमाफियाहरुले खेतीयोग्य जमिनमा परिणत गर्न खोजिरहेका छन् ।
यसले गर्दा यो क्षेत्रको अस्तित्वमा नै आँच आउने देखिएको छ । जंगल फडाँनीमाथिको प्रतिबन्धका बावजुद पनि यो काम तीव्र गतिमा भइरहेको छ । यति मात्र होइन अहिले फेसबुकजस्तो विश्वको ठूलो सामाजिक सञ्जाल प्लेटफर्ममा पनि अमेजन जङ्गलको जमिन बेच्न थालिएको छ ।
भोलिको दिनमा यसको असर अमेजन जंगलभित्र बसोबास गर्ने आदिवासीले मात्र नभएर पुरै विश्वले भोग्नुपर्नेछ । बीबीसीको एउटा अनुसन्धानमा ब्राजिलका केही भूमाफिया गिरोहले अमेजन वर्षावनमा अवैधरुपमा कब्जा गरेको जमिनलाई फेसबुकमा बेचिरहेको पाइएको छ ।
फेसबुकमा यस्ता प्रशस्त विज्ञापनहरु राखिएका छन्, जसमा विश्वको सबैभन्दा ठूलो वर्षावनभित्रको जमिन खरिद गर्ने प्रस्तावहरु राखिएका छन् । त्यहाँका आदिवासी समुदाय बसोबास गर्दै आइरहेको संरक्षित भूमिको ठूलो हिस्सा पनि बिक्रीका लागि राखिएको छ ।
जेर बोल्सोनारो ब्रजिलका राष्ट्रपति बने यता त्यहाँ रुख कटाईको अवस्था एक दशक यताकै उच्चतम स्तरमा पुगेको छ । १९८५ पछि ब्राजिली राज्य रोन टोनियोको वर्षावनको एक तिहाई भाग कटानी भइसकेको छ । वास्तवमा यो जङ्गलले विश्वभरी मौसम परिवर्तनलाई रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
ब्रजिलको उरुबाबा समुदाय अमेजन जंगलमा अवैधानिक कब्जा गर्ने घुसपैंठीहरुसँग वर्षौंदेखि जुँधिरहेको छ । त्यही समुदायका बिटाट र उनका साथीहरु आफ्नो भूमिका कोही घुसपैंठ गर्न नसकुन् भनेर सधैं गस्ती गर्छन् । यी भूमाफिया त्यस्ता व्यक्तिलाई जंगलको जमिन बेच्दछन्, जसले जमिन खरिद गरी त्यहाँको रुख काटेर खेती गर्छन् ।
बिटाटको समुदाय बसोबास गर्दै आइरहेको क्षेत्रको जमिनको सानो टुक्रा बिक्रीको प्रस्ताव सहित फेसबुकमा एउटा विज्ञापन थियो । जमिनको बिक्री फेसबुक जस्तो भर्चुअल स्पेससँगै बाहिर पनि भइरहेको छ । तर फेसबुकको माध्यमबाट भने भूमाफियाहरुलाई खरिददार खोज्न सजिलो भएको छ ।
बीबीसीले एकजना अन्डरकभर एजेन्टको मद्दतबाट फेसबुकमा जमिन बेच्ने चारजना भूमाफियासँग सम्पर्क गर्यो ।
बिटाटको बसोबास क्षेत्रको जमिन बेच्ने व्यक्तिको नाम एल्बिम एल्बस हो । उनले आफ्नो साथमा धेरै आधिकारिक जस्तो देखिने दस्तावेज ल्याएका थिए तर उनीसँग उक्त जग्गाको कानुनी स्वामित्वको कागजात थिएन ।
एक कागजातका अनुसार उनी कुरुपिरा संगठनका सदस्य हुन् । त्यहाँको प्रहरीले कुरुपिरा संगठनलाई आपराधिक संगठनको करार दिएको छ जसले त्यहाँ बसोबास गर्ने आदिवासी समुदायसँग जबरजस्ती जमिन खोस्दछ ।
यो संगठनले संरक्षित जमिन खोसेपछि राजधानी ब्रजिलियामा नेताहरुसँग साँठगाँठ गरेर ती जमिन आफ्ना सदस्यहरुका नाममा नामसारी गराउँदछ । एल्बिमले कोरोनो क्रिसोतोमो नाममा एक राजनेताले आफूहरुलाई सहयोग गरिरहेको उनले बताए ।
तर क्रिसोतोमोले संरक्षित जमिनमा कुरुपिरा संगठनले अवैद्य कब्जा जमाएको आफूलाई थाहा नभएको र थाहा भएको भए आफूले कहिल्यै समर्थन नगर्ने उनले बताए ।
फेसबुकले आफ्नो प्लेटफर्ममा क्रेता र बिक्रेताले कानूनी नियमको पालना गर्नुपर्ने र आफूले स्थानीय अधिकारीहरुलाई सहयोग गर्न तयार रहेको बताएको छ । बीबीसीले जब एल्बिमसँग सम्पर्क गर्न चाह्यो तब उनले जवाफ दिन मानेनन् ।
जबसम्म अधिकारीहरु यसविरुद्ध कुनै कदम उठाउँदैनन्, तबसम्म जंगलको विनाश भइरहने छ । वैज्ञानिहरु भन्छन् एक समय यस्तो आउने छ जब अमेजनलाई पुरानो अवस्थामा फर्काउन अप्ठ्यारो हुनेछ ।
बीबीसीको अनुसन्धानपश्चात ब्रजिलको सर्वोच्च अदालतले फेसबुकमा भइरहेको अमेजन वर्षावनको संरक्षित भूमिको बेचबिखनमाथि अनुसन्धान गर्न आदेश दिएको छ ।
फेसबुकले पनि बीबीसीको रिपोर्टमा उल्लेख गरिएको मुद्दालाई समाधान गर्न स्थानीय अधिकारीहरुसँग मिलेर काम गर्न तयार रहेको बताएको छ ।
यस वर्षको अन्त्यमा बेलायती शहर ग्लासगोमा क्लाइमेट समिट आयोजना हुँदैछ । जहाँ वातावरणसम्बन्धी विभिन्न महत्वपूर्ण मुद्दामाथि छलफल हुनेछ । जसमा अमेजन पनि एउटा मुद्दा बन्नेछ ।
-एजेन्सीकाे सहयाेगमा