काठमाडौं, २८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जरूरी परेको खण्डमा जुनसुकै समयमा आन्दोलनको आँधीबेरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताउनुभएको छ ।
बुटवलमा शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै आन्दोलन हिंसात्मक नहुने बताउदै आवश्क्ता परेको अवस्थामा आन्दोलनको आँधीबेरी सिर्जना गरिने अध्यक्षले प्रचण्डले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जरुरी पर्यो भने आन्दोलनको आँधीबेरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्छ। झण्डै ७० वर्षदेखि लोकतन्त्र, संविधानवाद, गणतन्त्रका लागि नेपाली जनताले संघर्ष गर्दै आएको र यसरी प्राप्त उपलब्धिलाई कुनै पनि हालतमा रक्षा गरिन्छ । फेरि विद्रोह वा फेरि हिंसाको कुरा गरेको होइन, कोही कसैमा भ्रम नपरोस् ।’
लडेर ल्याएका उपलब्धिलाई कुनै प्रतिगामीले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण क्रान्ति हुने उहाँले बताउनुभएको छ । संविधानको रक्षा गर्ने कि हत्या भन्नेबारे देशमा ठूलो बहस भइरहेकोले सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
दलित, मधेशी, आदिवासी जनजाति, मुस्लिमलगायतले पाएका अधिकारबाट पछाडि फर्कने त होइन भन्ने उहाँको आशंका रहेको छ । उहाँले भन्नुभयो, ‘अहिले नेपालमा यो परिवर्तनलाई उल्ट्याउन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन, दलित, जनजातिका अधिकारलाई उल्ट्याउन निकै ठुलो षड्यन्त्र भएको छ । सो साँचो कुरा हो ।’ यसरी संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने जस्ता निकै ठूलो षड्यन्त्र भएको उहाँको आरोप छ।