काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नाम सम्वन्धी विवादमा सर्वोच्च अदालते आज फैसला गर्न लागेको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको नाम तीन पार्टीले दावी गरेपछि सर्वोच्च अदालतमा परेको मुद्धामा आज फैसला हुने भएको हो ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्नो पार्टीसँग नाम जुधाएको विवादमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले रिट दायर गर्नु भएको थियो ।
लामो समयसम्मको सुनुवाई पछि न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासलमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने मिति तय गरिएको थियो । तर त्यस दिन पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा परेकाले आज उक्त विवादको निर्णय सुनाउने तयारी भएको हो ।
अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ सालमा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेकपाकै नाममा निर्वाचन आयोगमा दल दर्ता भएको विरुद्ध रिट निवेदन दायर गर्नु भएको थियो ।
अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा त्यसविरुद्ध उजुरी दिएपनि आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको पक्षमा निर्णय गरेको थियो ।
त्यसपछि आयोगको निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको हो । अदालतले कट्टेलको पक्षमा फैसला गरेमा राजनीतिक अवस्थामा पनि असर पर्न सक्ने विश्लेषण गरिएको छ ।