९ आश्विन २०७९, आईतवार

डडेल्धुरा देखी केन्द्रमा शेरवहादुर !

१५ फाल्गुन २०७७, शनिबार
डडेल्धुरा देखी केन्द्रमा शेरवहादुर !

काठमाडौं : सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै देउवा निवास बूढानीलकण्ठमा राजनैतिक चहलपहल बढेको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल देउवा बुढानिलकण्ठमा पुगे । भने एकैदिन फरकफरक समयमा देउवा निवास बूढानीलकण्ठ पुगेर भारतीय राजदुत र चिनियाँ राजदूतले भेटघाट गरे । देउवालाई भावी प्रधानमन्त्रीका रुपमा हेरिएकाले राजदूतद्वयको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

साढे तीन वर्षअघि आफ्नै नेतृत्वमा तीनै तहको निर्वाचन गराएका कांग्रेस सभापति शेरबहादुर देउवाले नराम्ररी हार बेहोर्नु परेको थियो । अहिले देशको राजनीतिमा फेरि अचानक शक्तिशाली भएका छन्। 

शेरबहादुर देउवाको राजनैतिक यात्रा :

विस‌. २००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिनु भएको हो। उहाँले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिनु भएको थियो। उहाँ स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई आफ्नो आदर्श बनाउन थालिसक्‍नु भएको थियो।

एलएसली दिएपछि देउवाले उच्च शिक्षाको लागि भारत नगइ विस‌‍. २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना हुनुभयो। यसपछि उहाँ नेविसंघभित्र राजनीतिमा सक्रिय हुनुभयो। यसक्रममा उहाँ विभिन्‍न समयमा पटक पटक पक्राउ पर्नुभयो। निडर स्वभावका देउवाले विद्यार्थीको हकहितमा आवाज बुलन्द बनाएर सडकमा उत्रिन्थे ।

नेविसंघमा सक्रिय भएर काम गरिरहनु भएका देउवा विसं २०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी हुनुभयो। नेविसंघको नेतृत्वमा आएपछि उहाँले आफ्नो राजनीतिकलाई झन् सशक्त रुपमा अगाडि बढाउनुभयो।

विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाउनु भएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्‍मेवारी दिएर परिचालन गर्नुभएको थियो । त्यतिबेला उहाँ भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेलधुरा पुग्‍नु भएको थियो।

जब वि‌‌सं. २०४६ मा नेपाली कांग्रेसले देशमा पहिलो जनअन्दोलन अगुवाइ गर्‍यो त्यतिबेला देउवा लन्डन स्कूल अफ इकोनोमिक्समा अध्‍ययन गरिरहनु भएको थियो। यसपछि २०४७ सालमा जनअन्दोलन सफल भएपछि देउवा लण्डनबाट काठमाडौं ओर्लिनुभयो।

२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बन्‍नुभयो। राजनीतिको धेरै उतार चढाव खेप्‍नु भएका देउवाले कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा उनले किशुनजी र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाउनु भएको थियो।

२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा गृहमन्त्री बनेका देउवाले २०५२ साल भदौ २७ गते पहिलोपटक प्रधानमन्त्री बने। झण्डै दुई वर्ष शासन गरे।

कोइरालाले अघि बढाएका देउवाले पार्टीको दशौ पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिनुभयो। २०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापतिमा पदमा उम्‍मेदवारी दिनुभएको थियो तर हार व्‍यहोर्नुपर्‍यो।

त्‍यतिबेला देशमा माओवादी जनयुद्धले पक्कड जमाइ सकेको थियो। कांग्रेसमा राजा र सेनाको असहयोग पनि बढ्दै गएको थियो भने एमालेले ५७ दिनसम्मको संसद घेराउ गरेको थियो जसबाट बाध्य भएर पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असार राजिनामा दिनु भएको थियो।

यसपछि फेरि कांग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उहाँ पुन : कांग्रेस संसदीय दलको उम्मेदवार बन्‍नुभयो। सुशील कोइरालालाई हराएर नेता बन्‍नुभयो। संसदमा पार्टीको बहुमत भएकाले उहाँ दोस्रोपटक प्रधानमन्त्री बन्नुभयो।

राजनीतिक घटनासँगसँगै विंस‌ २०६१ साल माघ १९ गते ज्ञानेन्द्रले ‘शाही कू’ मार्फत देउवालाई दोस्रोपटक हटाइदिएर सत्ता आफ्नो हातमा लिए। त्‍यतिबेला गिरिजाप्रसाद कोइराला माओवादीलाई साथ लिएर ज्ञानेन्द्र विरुद्ध जनान्दोलनको तयारीमा हुनुहुनथ्यो।

संसद पुनर्स्थापनापछि गिरिजाप्रसाद पुनस् एक पटक नेपाली राजनीतिमा चर्चाको शिखरमा आउनुभयो। यसपछि देउवा कोइरालासँग पार्टी एकीकरण गरेर मूल पार्टीमै फर्किनुभयो।

नेपाली कांग्रेसको राजनीतिमा पाँच दशकपछि र सत्तरी वर्षको उमेरमा वि‌.सं. २०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय हुनुभयो।

शेरबहादुर देउवा १२ वर्षपछि २०७४ साल चौथो पटक र मुलुकको ४०औं प्रधानमन्त्री बने । देउवाले सङ्घ, प्रदेश र स्थानीय तह गरी २०७४ मा तीन तहको निर्वाचन आफ्नै पालामा सम्पन्न गरे । २०७४ साल फाल्गुनमा संसदीय दलको नेतामा प्रकाशमान सिंहलाई पराजित गर्दै पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भए । अहिले नेपाली काङ्ग्रेसको पार्टी सभापति तथा संसदीय दलको नेता रहेका छन् ।

सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहुनुभएका उहाँ सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ। प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताउनुभएको छ।

प्रधानमन्त्री देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, ट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गर्नुभएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo