KhabarUjyalo

मेलम्ची आयोजनामा भ्रष्टाचारको आरोपमा भीम उपाध्यासहित १५ जना विरुद्ध मुद्दा दायर

६ फाल्गुन २०८०, आईतवार
मेलम्ची आयोजनामा भ्रष्टाचारको आरोपमा  भीम उपाध्यासहित १५ जना विरुद्ध मुद्दा दायर

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिवहरूसहित १५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी भुक्तानी गरेको पाइएकाले परामर्शदाता तथा निर्माण कम्पनीमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगले पूर्वसचिव सञ्जय शर्माविरुद्ध ६ करोड ९७ लाख ८३ हजार एक सय ७८, सहसचिव मुकुन्दप्रसाद पौडेलविरुद्ध पनि समान बिगो दाबी गरेको छ। खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्याय विरुद्ध चार करोड ११ लाख ३४ हजार दुई सय ७९ बराबरको बिगो दाबी गरिएको छ। खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरविरुद्ध ६० करोड ४९ लाख १९ हजार आठ सय ८४ बराबरको बिगो दाबी गरिएको छ।

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध ११ करोड नौ लाख १७ हजार चार सय ५८ बराबरको बिगो दाबी गरिएको छ। आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य चन्द्रबहादुर थापा, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराई विरुद्ध पनि मुद्दा दायर गरेको छ।

यस्तै मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा,सूर्यराज कँडेल, समितिका तत्कालीन उपसचिव मणिभद्र न्यौपाने, केदारप्रसाद अर्याल, बेगनाथ पौडेल, लेखा अधिकृत रामचन्द्र न्यौपाने, समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापा, शिवकुमार शर्मा, परामर्शदाता कम्पनी  इप्टिसा र निर्माण कम्पनी सिएमसीलाई बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए। –रासस

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo