काठमाडौं । सार्वजनिक सम्पत्ति आगजनी कसुरमा कैदमा रहेका कैलाली २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई सरकारले माफी दिने प्रक्रिया अघि बढाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालकै नेतृत्वमा रहेको गृह मन्त्रालयले निलम्बित सांसद चौधरीको सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २ हजार ७४ को दफा १ सय ५९ अनुसार माफी प्रक्रियाका लागि महान्यायाधिवक्ता कार्यालयलाई पत्र पठाएको छ ।
गृह मन्त्रालयले आज (बिहीबार) निलम्बनमा परेका चौधरीलाई माफी दिने विषयमा राय पेस गर्न र चौधरीको मुद्दा अन्तिम भएको हो कि होइन भनेर जानकारी माग गर्दै पत्र लेखेको हो । गृहको मागअनुसार महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतमा पुनरावेदन नभएको र १० वर्षअघि नै मुद्दाको अन्तिम टुंगो लागेको जनाएको छ ।
गृह मन्त्रालयमार्फत राष्ट्रपति कार्यालयमा माफीको निवेदन दिएका चौधरीलाई राष्ट्रपतिले माफी दिएलगत्तै उनी थुनामुक्त भएर सांसदका रुपमा पुन: प्रतिनिधिसभामा सहभागी हुन पाउनेछन् । २०६६ सालमा ट्याक्टरमा आगो लगाएको कसुरमा जिल्ला अदालतले फरारकै अवस्थामा ६ महिना कैद फैसला सुनाएका चौधरी गत माघ १९ गते पक्राउ परी कारागार चलान भएका थिए ।