धनगढी : आफुले बचत गरेको रकम फिर्ताको माग गर्दै शिव शिखर बहूद्देश्यीय संस्थाका धनगढी शाखाका बचतकर्ता आन्दोलित भएका छन् ।
संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै बिहीबार शिव शिखर बहूद्देश्यीय सहकारी पीडित संर्घष समितिले धनगढीमा शान्तिपूर्ण आन्दोलन समेत गरेको छ ।सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा सेवाग्राहीहरू मर्कामा परेका छन् ।बचतकर्ताको रकम असुल्न खोजेको भन्दै उनीहरूले सहकारीलाई कारबाही गर्न समेत माग गरेका छन् ।
‘हाम्रो बचतको ग्यारेन्टी गर, बचत कर्ताको रकम तुरुन्त फिर्ता गर’ लगायतका माग राख्दै बचतकर्ता आन्दोलनमा उत्रिएका हुन् ।शिव शिखर बहूद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष देवदत्त भट्टले शिव शिखर बहूद्देश्यीय धनगढी शाखाले बचत कर्ताको १५ अरब ८० करोड रुपैयाँ खाएर भागेको बताए ।बचतकर्ताको सो रकम फिर्ता नहुँदा आफूहरूको आन्दोलन जारी रहने उनले बताए ।
भक्तपुर केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले सेवाग्राहीहरूले बचत गरेको रकम फिर्ता गर्न नसेको भन्दै केही दिन अघि सहकारीको कार्यालय समेत घेराउ गरेका थिए ।
यता सहकारीको धनगढी स्थित कार्यालय दिनभरि निक्षेप फिर्ता माग्ने ग्राहकको घुइँचो लाग्न थालेपछि तत्काल रकम फिर्ता गर्न नसक्ने भन्दै केही दिन अघिबाट धनगढी सेवा कार्यालय नै बन्द गरेको थियो । सहकारीका सुदूरपश्चिम प्रदेशका वरिष्ट प्रबन्धक हेमराज जोशीले भने एकै पटक बचतकर्ता पैसा फिर्ता माग्न कार्यालय घेर्न थालेपछि समस्या उत्पन्न भएको बताएका छन् ।