पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी खण्डमा विजयपुर खोला पर्छ । दक्षिणतिर सेती नदी पर्छ । विजयपुर खोला त धावनमार्गको झनै नजिक छ । यतिसम्म कि अवतरणका क्रममा रहेको जहाजले खोला पार गर्नासाथ धावनमार्ग टेक्न पुगिहाल्छ ।
विमानस्थलको नजिक भएर बग्ने यी दुवै खोला प्रायः दुुर्गन्धित हुन्छन् । सेतीको तुलनामा विजयपुर खोला बढी फोहोर हुन्छ । मरेका गाइवस्तु, कुकुर, बिरालो, कुखुरा काटेपछि निस्केको फोहोर, बंगुरको फोहोर खोलामै फालिन्छ । जसले गर्दा खोला क्षेत्र दुर्गन्धित हुने र त्यसले गर्दा त्यस क्षेत्रमा चरा आकर्षित हुने गरेका छन् । सिनोका कारण आकर्षित हुने चरा विमानस्थलका लागि ‘चुनौती’ बन्दै गएको विमानस्थलले बताएको छ ।
खोलामा पानी कम भएको अवस्थामा त सिनोका कारण चरा बढी आकर्षित हुने हुँदा समस्या बढ्ने गरेको छ । विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार खोलामा जथाभावी फालिने सिनोका कारण चरा आकर्षित भएकाले त्यसको चुनौती विमानस्थलबाट हुने हवाई उडान र अवतरणमा पर्ने गरेको छ ।
केही दिनअघि त अवतरणका क्रममा रहेको जहाजसँग चरा नै ठोक्किएको थियो । ‘विमानस्थलको नजिक रहेको ल्यान्डफिल्ड साइट त हट्यो तर खोलामा जथाभावी बगेर आउने सिनोले हवाई उडानमा चुनौती बढाएको छ,’ गौतमले भने, ‘मरेका पशुपंक्षी खोलामा भेटिन्छन् । खोला क्षेत्रमा त्यही सिनोलाई आहारा बनाउने चराको बिगबिगी छ। जसले गर्दा हवाई उडानमा समस्या थपेको छ ।’
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।