KhabarUjyalo

सामाजिक सञ्जालमा ट्रोल भएपछि पुनः मर्मत हुने भयाे बाघको सालिक

२२ पुष २०७९, शुक्रबार
सामाजिक सञ्जालमा ट्रोल भएपछि पुनः मर्मत हुने भयाे बाघको सालिक

काठमाडौँ। सुर्खेतस्थित सहिद पार्कमा रहेको बाघको सालिक (मूर्ति) मर्मत गरिने भएको छ । स्वरूप नमिलेको बाघको सालिकलाई लिएर सामाजिक सञ्जालमा ट्रोल बनेपछि यसको स्वरूप फेर्ने तयारी भएको हो ।

सालिक निर्माणको जिम्मा पाएको भैरव सामुदायिक वन उपभोक्ता समितिका सह-सचिव अमरबहादुर कार्कीले बाघको सालिकको स्वरूप फेर्ने निर्णय भएको जानकारी दिए । यसका लागि काली गढसँग सम्पर्क भइरहेको र आकर्षक स्वरूपमा सालिक तयार पारिने उनले बताए ।

”स्वरूप नमिलेको महसुस हामीलाई पनि भएकै हो । अझ फेसबुकमा १३ लाखमा बनेको सालिक भनेर प्रचार भएको रहेछ । तर यसका लागि ५० हजारमात्रै खर्च भएको छ,” उनले भने ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष शेरबहादुर केसीले पनि सालिक मर्मतका लागि पहल भइसकेको जानकारी दिए । पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा चिनिएको पार्कमा पाटेबाघको सालिकको आलोचना भएपछि यसकाे स्वरुप फेर्न लागेको उनले जनाए । 

केही दिनयता यो सालिक विवादित बनेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो क्षेत्रमा बनाइएका गाई, भैँसी, सुँगुर, दुम्सी लगायतका मूर्तिको फोटो राखी चर्चामा ल्याउने प्रतिस्पर्धा चलेको छ । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo