KhabarUjyalo

जाडोले सुदूरपश्चिमको जनजीवन कष्टकर बन्दै

२१ पुष २०७९, बिहीबार
जाडोले सुदूरपश्चिमको जनजीवन कष्टकर बन्दै

धनगढी । केही दिनदेखि कैलाली, कञ्चनपुरसहितका तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ । दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगै चलेको शीतलहरले जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो । कैलाली, कञ्चनपुरसहितका जिल्लामा लगातारको हुस्सुका कारण पछिल्ला दिनमा घाम झुल्किन नपाएर दिउँसै अँध्यारोजस्तो भइरहेको छ ।

कठ्याङ्ग्रिने जाडोको सामना गरिरहेका सर्वसाधारणलाई न्यानो कपडा र आगो ताप्न दाउराको समस्या भइरहेको छ । सहरी क्षेत्रका कतिपय सार्वजनिक चोकमा दाउराको विकल्पमा काम नलाग्ने पुराना टायर र प्लाष्टिक बालेर सर्वसाधारणले आगो ताप्नुपर्ने बाध्यता छ । धनगढी उपमहानगरपालिकाका–१३ वडा कार्यालयले वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा कम्बल वितरण गरिरहेको छ ।

यसवर्ष विगतका वर्षको तुलनामा केही दिन ढिलोगरी चलेको शीतलहरले बढेको जाडोका कारण मजदुर, स्कुले बालबालिका, वृद्धवृद्धालाई बढी असर पारेको छ । धेरै विद्यालयले जाडोको बिदा दिए पनि कतिपय निजी विद्यालयले बालबालिकाको स्वास्थ्यमा चिसोका कारण पर्नसक्ने जोखिमको बेवास्ता गरेर अझै बिदा दिएका छैनन् ।

‘पठनपाठनलाई नियमित बनाउने निजी विद्यालयबीचको अस्वस्थ प्रतिस्पर्धाले प्रतिकूल मौसममा पनि बिदा नदिने प्रवृत्ति देखिएको छ, चिसोले सबैभन्दा बढी साना बालबालिकालाई असर पुगिरहेको छ’, एक शिक्षकले भने। तराईका जिल्लामा देखिने शीतलहरको समस्याले बर्सेनि जनजीवन नराम्रोसँग प्रभावित हुने गर्छ ।

पहाडी क्षेत्रका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्ला कुहिरो र हुस्सुले ढाकेको छ । घाम झुल्किन नपाउँदा सर्वसाधारणलाई बिस्कुन सुकाउन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहेको छ। निरन्तरको हुस्सु र कुहिराका कारण ‘भिजिविलिटी’ कम हुँदा केही दिनदेखि काठमाडौँ–धनगढीको हवाई उडान प्रभावित भइरहेको छ । दुई दिनअघि काठमाडौँबाट धनगढी उडान भरेको श्री एयरलाइन्स धावनमार्गमा अवतरण गर्न नसकी काठमाडौँ फर्किएको थियो ।

लामो समयसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगले आलु, गोलभेँडा, तोरीलगायतका बाली नष्ट हुने समस्या किसानका लागि स्थायी समस्या भइसकेको छ । त्यसका कारण डढुवा रोगको प्रकोपबाट यी बाली जोगाउन तराईका किसानलाई मुश्किल हुने गरेको छ ।

यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ (पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यसमुनि गोलभेँडालगायतका तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले विषादी पनि छर्किने गरेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo