धनगढी,२० पुस । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख जोशीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेको जानकारी दिए । दाबी पेश गर्न २७ पुस साँझ ५ बजेसम्म समय दिइएको ढुंगानाले बताए ।
संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले धारा (२) अनुसार दुई वा दुई भन्दा बढि दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।
त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । सुदूरपश्चिम प्रदेश सभा १९ सिटसहित नेपाली कांग्रेस सबभन्दा ठूलो पार्टी बनेको छ । माओवादी केन्द्रको ११ , नेकपा एमालेको १०, नागरिक उन्मुक्तिको ७, नेकपा एसको ४ , राप्रपा १ र एकजना स्वतन्त्र सांसद छन् ।