भारतमा बिहेअगाडि यौन सम्बन्धलाई अस्वीकार्य मानिए पनि अध्ययनहरूले ठूलो सङ्ख्यामा किशोरकिशोरीहरू यौनिक गतिविधिमा संलग्न भएको देखाएका छन्
बाल यौन दुर्व्यवहारका घटना नियन्त्रण गर्ने उद्देश्यले भारतमा एक दशकअघि एउटा कडा कानुन ल्याइयो।
बालबालिकालाई यौन दुर्व्यवहारबाट संरक्षण गर्न ल्याइएको उक्त कानुनले १८ वर्षको उमेर नपुगी गरिने सबै यौनिक गतिविधिलाई अपराध मानेको छ।
अठार वर्षमुनि नपुगी सहमतिमै यौन सम्बन्ध राख्दा विशेषगरी किशोरहरूलाई मर्का परेको देखिन्छ।
“एज अफ कन्सेन्ट” अर्थात् सहमतिमा यौन सम्बन्ध राख्ने उमेर नपुगेका किशोरकिशोरीले सहमतिमै सम्बन्ध राखे त्यसलाई अपराध मान्न नहुने भन्ने धारणा बढेको पाइन्छ।
केही वर्षअघि महिला सुरक्षाबारे समाचार गरिरहँदा मलाई प्रहरीले एक १६ वर्षीया बालिकासँग भेट गराएको थियो।
“उनी बलात्कार भएकी बालिका हुन्,” एक महिला प्रहरीले हामीलाई चिनाइन्।
तर जब मैले बालिकासँग कुरा गरेँ उनले आफ्नो बलात्कार भएको कुरा अस्वीकार गरिन्। “म राजीखुसीले गएकी थिएँ,” उनले भनिन्।
ती बालिकाकी आमाले उनलाई गाली गर्न थालेपछि महिला प्रहरीले मलाई बाहिर निकालिन्।
ती बालिकाका आमाबुवाले आफ्नो छिमेकमा बस्ने एक किशोरविरुद्ध उजुरी दिए। ती किशोर पक्राउ परे। बालिकाले सहमतिमै सम्बन्ध राखेको भए पनि उजुरी दर्ता गर्नुबाहेक प्रहरीसँग अर्को विकल्प नभएको ती महिला प्रहरीको भनाइ थियो।
बालबालिकामाथि हुने यौन दुर्व्यवहारका घटना उच्च रहेकाले कठोर कानुन आवश्यक थियो।
सन् २००७ को सरकारी अध्ययनअनुसार ५३ प्रतिशत बालबालिकाले आफूले कुनै न कुनै किसिमको यौन दुर्व्यवहार भोगेको बताएका थिए।
तर उक्त कानुनमा एज अफ कन्सेन्टलाई पनि १६ बाट बढाएर १८ पुर्याइयो जसका कारण सहमतिमै यौन सम्बन्ध राख्ने लाखौँ किशोरकिशोरीको कार्य अपराध ठहरिने अवस्था आइपुग्यो।
बिबिसीबाट